मदन भण्डारी विश्वविद्यालयको शुभारम्भ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २२ गते । मकवानपुरको चित्लाङमा स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको शुभारम्भ गरिएको छ ।
विश्वविद्यालयको शुभारम्भसँगै विश्वविद्यालयको आगामी योजना र लक्ष्यका बारेमा जानकारी दिन सोमबार ललितपुरमा आयोजित गोष्ठीको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उद्घाटन गर्नुभएको हो ।
गोष्ठीको उद्घाटन गर्दै मन्त्री राईले नवस्थापित विश्वविद्यालय विश्वमा शिक्षणसँगै अध्ययन र अनुसनधानमा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विश्वविद्यालयले सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपालको अथर्तन्त्र सवलीकरणमा सफल हुने बताउनुभयो ।
गोष्ठीमा विश्वविद्यालयका अध्यक्ष प्राध्यापक राजेन्द्रध्वज जोशीले विश्वविद्यालय स्थापनाका उद्देश्य, आगामी योजनालगायतका बारेमा जानकारी गराउनुभएको थियो । साथै गोष्ठीमा विश्वविद्यालयको हालसम्मको अवस्था, पूर्वाधार निर्माण, आगामी शैक्षिकलगायतका योजनाका बारेमा जानकारी गराइएको थियो ।
गोष्ठीमा विश्वविद्यालयका बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम ज्योति, प्राध्यापक सुरेशराज शर्मा, प्राध्यापक सीराम रामाकृष्णलगायतले नवस्थापित विश्वविद्यालयका बारेमा धारणा राख्नुभएको थियो ।
थाहा नगरपालिका ९ स्थित चित्लाङमा विश्वविद्यालयको भौतिक संरचना निर्माणाधीन रहेको छ ।
विश्वविद्यालय स्थापना क्षेत्रको भौतिक, जैविक तथा सामाजिक वातावरणमा दीर्घकालीन रुपमा पार्ने नकारात्मक प्रभावसँगै प्रतिकूल प्रभावलाई संवोधन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अध्ययन गरी प्रतिवेदन (ईआईए) तयार गरी अन्तिम रुप दिन छलफलको क्रममा रहेको छ ।
चार हजार विद्यार्थीले अध्ययन गर्ने गरी विश्वविद्यालय स्थापना गर्न लागिएको हो ।
विश्वविद्यालयमा दुई सयभन्दा बढी कोठा रहने गरी प्रस्ताव गरिएको छ भने ती संरचना निर्माण क्षेत्रफल दुई लाख २३ हजार वर्गमिटर क्षेत्रफलमा बन्ने छ ।
विश्वविद्यालय आयोजना क्षेत्रमा शैक्षिक भवनहरु, कम्युनल भवन, ६०७ जना कर्मचारीका लागि आवास, ४० कोठाको अतिथि भवन, २५ शय्याको अस्पताल, विद्यालय र सडक निर्माण हुने छ ।
साथै विश्वविद्यालय आयोजनाको निर्माण लागत ३७६ मिलियन अमेरिकी डलर अर्थात ४९ अर्ब रुपियाँभन्दा बढी रहेको जनाइएको छ ।

ताजा समाचार

Related Articles