चुरिया सुरुङमार्ग सर्वसाधारणलाई खुला

लोकप्रिय

हेटौँडा, पुस २० गते ।
हेटौँडा उपमहानगरपालिका १५ स्थित ऐतिहासिक महत्वको सुरुङमार्ग बागमती प्रदेश सरकारले जीर्णोद्धारपछि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत जीर्णोद्धार गरिएको चुरियामाई सुरुङमार्ग निर्देशनालयले उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको १०७ वर्ष पुरानो सुरुङमार्गको जीर्णोद्धारसँगै अब हेटौँडा उपमहानगरपालिकाले सुरक्षा र संरक्षणको जिम्मा पाएको छ । पुनर्निर्मित सुरुङमार्गको जिम्मा हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेसँगै सोमबारबाटै सर्वसाधारणका लागि खुला गरिएको छ ।
निर्देशनालय र उपमहानगरपालिकाबिच पुनर्निर्मित चुरियामाई सुरुङमार्गको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्झौतासमेतभएको छ ।
चुरे पर्वत छेडेर एक शताब्दिभन्दा अगाडि निर्माण गरिएको दक्षिण एशियाकै पहिलो उक्त सुरुङमार्ग नियमित मर्मत सम्भारको अभावमा सुरुङमार्गको बीच भागमा पुरिएर आरपार गर्न नसक्ने अवस्थामा रहेको थियो ।
बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत ऐतिहासिक महत्वको चुरियामाई सुरुङमार्गको पुनर्निर्माणसँगै पर्यटकीय गन्तव्य बनाउने गरी जीर्णोद्धार गरिएको हो ।
मर्मत, सम्भारको अभावमा पुरिएर अवरुद्ध बनेको सुरुङमार्ग बागमती प्रदेश सरकारले मूल्य अभिवृद्धि करसहित तीन करोड ६५ लाख ८२ हजार ४१५ रुपियाँको लागतमा जीर्णोद्धार गरेको हो ।
सो सुरुङमार्गको सुरुमा पाँच सय मिटर निर्माण गरिएकोमा हाल २२५ मिटर मात्र बाँकी रहेको छ । उचाई तीन मिटर र चौडाई २.५ मिटर रहेको सुरुङमार्ग तराईको अमलेखगञ्ज र काठमाडौँ जोड्ने सडकको सेतुको रुपमा रहेको थियो ।
चुरे पर्वत श्रृङ्खलामा कटान (बक्स कट) गरी सडक बिस्तारको क्रममा कालोपत्रे सडक निर्माणसँगै उक्त सुरुङमार्ग प्रयोगविहीन बनेको थियो ।
मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाई सुरुङमार्ग भएर विगतमा जीप, लहरीलगायतका साना सवारी आवतजावत हुने गरेको थियो ।
नेपालको पहिलो सुरुङमार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा वि.सं. १९७४ सालमा निर्माण गरिएको चुरियामाई सुरुङमार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको थियो ।

ताजा समाचार

Related Articles