काठमाडौँ, जेठ २७ गते । काठमाडौँ महानगरपालिकाको आयोजनामा असार ४ देखि १३ गतेसम्म पीएल सिंह स्मृति महानगर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । बागमती क्रिकेट सङ्घको ब्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले पहिलो पटक अन्तरमहानगरपालिका क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा काठमाडौँ, ललितपुर, भरतपुर, वीरगन्ज, विराटनगर र पोखरा महानगरपालिकाको सहभागिता रहने छ । प्रतियोगितामा सोही महानगरपालिकाको सात जना र जिल्लाबाट आठ जना खेलाडी टोलीमा समावेश गर्न सक्ने छ । नयाँ खेलाडी उत्पादन गर्न र नेपाली क्रिकेटको ग्रासरुट विकासका लागि प्रतियोगिता फलदायी हुने बागमती प्रदेश क्रिकेट सङ्घका अध्यक्ष एवं नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले बताउनुभयो । उहाँले यस प्रतियोगिताको पुरस्कार राशी घरेलु प्रतियोगिताकै सर्वाधिक धेरै भएको र फाइनल खेल त्रिवि क्रिमेट मैदानमा फर्ड लाइटमा खेलाइने जानकारी पनि दिनुभयो ।

यस्तै काठमाडौँ महानगरपालिका सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस प्रतियोगिताबाट कम्तिमा दुई चारजना नयाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले आगामी वर्षदेखि यस प्रतियोगितालाई थप बृहत बनाउने पनि जानकारी दिनुभयो । प्रतियोगिताको विजेता टोलीले ११ लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । यस्तै ब्यक्तिगत विधाका उत्कृष्टलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।




