सिन्धुलीमा छ वटा पक्की पुल बनाउँदै प्रदेश सरकार

लोकप्रिय

सिन्धुली, पुस २० गते ।
बागमती प्रदेश सरकारले ३२ करोड बढी लागतमा सिन्धुलीमा छ वटा पक्की पुल निर्माण गर्न सुरु गरेको छ ।

सहायक मार्ग तथा ग्रामीण सडक जोड्ने गरि विभिन्न स्थानका खोलामा बागमती प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुलीले पक्की पुल धमाधम निर्माण गरिरहेको छ ।

प्रदेश सरकारको ९ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ लागतमा गोलञ्जोर गाउपालिका वडा नम्बर ६ को बारा-घोक्सिला-छेत्पा-नयाँ खर्क सडकको घोक्सिला सडक पुल निर्माण सुरु गरेको छ ।

यो पुल १८ महिनामा सम्पन्न गर्नुपर्ने गरि सम्झौता भएको र सोही अनुसार काम भइरहेको पूर्वाधार कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार विपी राजमार्गस्थित कमलामाई नगरपालिका ४ ढुङग्रेबास २ नम्बर गेटबाट कुमालफाँट ग्वाङखोला सडक पुल निर्माण भइरहेको छ ।

२०८१ जेठ १६ गते सम्पन्न गर्ने गरि ३ करोड ८६ लाख २२ हजार ३ सय ७३ रुपैयाँ लागतमा पुल निर्माण भइरहेको पूर्वाधार कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरि कमलामाई नगरपालिका २ को चियाबारी क्योवरे ग्वाङ खोलामा पक्की पुल निर्माण भइरहेको छ । तीन करोड ९० लाख ८० हजार ८ सय ८० रुपैयाँ लागतमा पुल निर्माणधीन रहेको छ ।

यसैगरी, पूर्वाधार कार्यालयबाटै यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरि सिन्धुलीको घ्यालेख गाउँपालिकामा २ ओटा पक्की पुल निर्माण भइरहेको छ ।

घ्यालेख गाउँपालिका २ ठाडीखोलामा ५ करोड ९८ लाख ८३ हजार ६५४ रुपैयाँमा पक्की पुल धमाधम निर्माण भइरहेको छ । सोही गाउँपालिकाको वडा नम्बर ३ मा रहेको तामाजोर खोलामा ५ करोड ६५ लाख ७५ हजार ३ सय ४७ रुपैयाँ लागतमा पक्की पुल निर्माण सुरु भएको कार्यालयले जानकारी दिएको छ ।

सुनकोसी गाउँपालिकाको सातविसे डिही पक्की पुलमा ३ करोड ६० लाख ९४ हजार ६ सय ७६ रुपैयाँमा लागतमा पुल शिलान्यास भइ काम सुरु भएको कार्यालय प्रमुख सापकोटाको भनाई छ ।

छ वटा पक्की पुल निर्माणसँगै सयौँ स्थानीय बासिन्दाहरू प्रत्यक्ष लाभान्वित हुनेछन् ।

ताजा समाचार

Related Articles