हेटौंडा, फागुन २६ गते ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले वर्तमान सरकारको कारण अराजकताले मलजल पाएको बताउनुएको छ । कुलमान घिसिङ जस्ता राष्ट्रसेवकको मानमर्दन गर्ने, आफ्नाहरुलाई बिभिन्न मुद्धाबाट उन्मुक्ति दिने जस्ता कामहरुतर्फ इंगित गर्दै नेता गौतमले सरकारले जनताप्रति जवाफदेही भएर काम गर्न नसक्दा यस्तो देखिएको आरोप लगाउनुभयो।
बकैया ७, भिरकोटमा आयोजित माओवादी केन्द्र बकैया गाउँपालिका ७ को तेश्रो सम्मेलनमा बोल्दै कांग्रेस र एमालेको सरकारले राम्रो नराम्रो हेरेर भन्दा पनि आफुले जे गरेपनि हुन्छ भन्ने गलत भावनाले काम गर्दा जनतामा वितृष्णा बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, यसको फाईदा कथित राजावादीहरुले लिन खोजे पनि यो उनीहरुको दिवास्वप्नमा सीमित हुन्छ तर दलहरुले यस प्रकारको घटना, प्रवृत्तिलाई नजर अन्दाज नगरी सच्चिएर अगाडी बढ्ने अवसरको रुपमा ग्रहण गर्नुपर्दछ।
माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले २५० बर्ष शासन चलाउँदा नबचाएको र नबनाएको देश फेरी ‘आऊ र बचाऊ’ भन्नु केवल हास्यास्पद र केटाकेटी कुरा भएको जिकिर गर्नुभयो ।
सम्मेलनले मान बहादुर सिंग्तानको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ। सम्मेलनमा माओवादी केन्द्रका प्रदेश समिति सदस्य जीवन गोले, जिल्ला सदस्यहरु लोकनाथ गौतम, नवराज चौलागाई, भक्त बहादुर खत्री, गाउँपार्टीका अध्यक्ष बिमल नेपाल, गाउँकमिटी सदस्यहरु मदन लामा, राजेन्द्र घिमिरे, भोजराज लामिछानेलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए।