पर्वत – वैदेशिक रोजगार न्यायाधिकरणबाट तोकिएको सजाय भोग्न बाँकी रहेर फरार सूचिमा रहेका पूर्व सांसद मिठा राम विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतले ६ वर्षपछि पक्राउ गरेको छ।
२०७५ साल माघ २८ गतेको फैसलाअनुसार १ वर्ष २१ दिन कैद असुल उपर गर्न बाँकी रहेका पर्वत जिल्ला, कुस्मा नगरपालिका-८ चुवा स्थायी ठेगाना भएका ७२ वर्षीय मिठा राम विश्वकर्मालाई प्रहरीले फागुन २७ गते पक्राउ गरेको हो।
उहाँ हाल काठमाडौँ महानगरपालिका-१६ वनस्थलीमा लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिनुभयो । उहाँलाई पर्वत जिल्ला अदालत पेस गरी फैसला अनुसार सजाय भुक्तानका लागि पर्वत कारागार चलान गरिएको विष्टले बत्ताउनुभयो ।
कारागार चलान भएका विश्वकर्मा नेपाली काङ्ग्रेसको तर्फबाट २०६४ सालमा बनेको अन्तरिम संसद सदस्य हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतले फरार प्रतिवादीहरूलाई खोजतलास गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।