पहिरो प्रभावितको परिवारलाई राहत प्रदान गरिने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २९ गते । मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दोभानमा गएको पहिरोमा परी प्रभावित भएकाको परिवारलाई राहत प्रदान गरिने भएको छ ।
बागमती प्रदेश सरकार र सङ्घीय सरकारले राहत प्रदान गर्ने बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठ सिन्धुली हरिहरपुरगढी गाउँपालिका– १ ककरेस्थित पहिरो प्रभावित परिवारको घरमै पुगेर परिवारजनप्रति समवेदना व्यक्त गर्दै सरकारले राहत उपलब्ध गराउने बताउनुभएको हो ।
उहाँले प्रभावित परिवारलाई केही दिनभित्र बागमती प्रदेश सरकारको तर्फबाट दुई लाख र नेपाल सरकारको तर्फबाट पाँच लाख गरी सात लाख रुपियाँ राहत उपलब्ध गराउने बताउनुभयो ।
यही साउन २३ गते बिहान आएको पहिरोले घरसहित सात जना बगाएकोमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका– १ ककरेका जीवन पहरीकी श्रीमतीसहित चार जनाएको मृत्यु भएको थियो । २६ वर्षीय जीवन र निजका तीन वर्षीय छोरा देव पहरी अझै बेपत्ता छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ का पासाङ घिसिङको उद्धार गरिएको थियो ।
साथै श्रेष्ठले मृतकका परिवारलाई काजकिरियाका लागि आफ्नो व्यक्तिगत तर्फबाट १० हजार रुपियाँ प्रदान गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles