खासकुरामा कोदोको कुरा

लोकप्रिय

हेटौँडा, साउन ३० गते ।
मकवानपुरगढी गाउँपालिका वडा न. ४ कालीखोला निवासी किसान वीरबहादुर योञ्जनसँग कोदोको विषयमा कुराकानी गर्ने अवसर मिल्यो ।
८५ वर्षीय उहाँले सानै उमेरदेखि कोदो खेती गर्दै अहिले पनि कोदो खेती गरिरहनुभएको छ र नियमित रुपमा कोदोको परिकार (ढिडो र रोटी) खाने गर्नुहुन्छ । उहाँ अगाडि भन्नुहुन्छ नियमित कोदो खानाले होला अहिलेसम्म स्वस्थ छु, औषधि खानु परेको छैन र बारीमा कोदो रोप्ने काम पनि गरिरहेको छु ।
कोदो रोप्यो उत्पादन भईहाल्छ, कोदो कहिल्यै थारो बस्दैन । कोदोमा किरा पनि लाग्दैन, घुन पनि लाग्दैन धेरै वर्षसम्म सजिलै भण्डारण गरेर राख्न सकिन्छ । गाउँका सबैका बाजे योञ्जनले भन्नुभयो, हामीले बारी खनेर कोदो रोप्ने, लठ्ठीले चुट्ने, ढिकीमा फल्ने र पानीघट्टमा पिठो पिस्ने गर्थ्यौ, असाध्यै मेहनत गर्नुपर्थ्यो । अहिले त ट्रयाक्टरले जोत्ने, मेशिनमा चुट्ने, मेशिनमै फल्ने र मिलमा पिस्ने सजिलो भएको छ । यहाँका किसानले कोदो खेती गरी कोदो बेचेर आम्दानी लिन थालेका छन् ।
उहाँले थप्दै अगाडि भन्नुभयो कोदो खाने मान्छे असाध्यै बलियो हुन्छ । त्यो बेलामा कालो कोदो लुकेर खान्थ्यौ अहिले त औषधिको रुपमा खाने चलन आयो भनेर सुनिरहेको छुँ । हाम्रो पुर्खाले कोदो खेती गर्न र खान सिकाउनु भयो, अहिलेसम्म त्यही गरिरहेको छुँ ।
८५ वर्षको उमेरमा पनि काम नगरिकन बस्न सक्दिन, केही न केही काम गरिरहन मन लाग्छ । तर अहिलेको पुस्ता ‘अल्छी तिघ्रे, स्वादे जिब्रे’ भने जस्तै घरमा मोबाइल र टिभीमा झुन्डी रहने, काम केही नगर्ने र मिठोमिठो खान खोज्छन् ।

कोदो खाउँ, स्वस्थ रहौँ ।

(मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीको फेसबुक पेजबाट साभार)

ताजा समाचार

Related Articles