हेटौँडा, असार २ गते । मकवानपुरको कैलाश गाउँपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्तिचतता तथा दीगोपना घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख एंव जिल्ला खोप समन्वय समितिका संयोजक ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा कैलाशलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो ।
संयोजक घलानले खोप बालबालिकाको जीवन रक्षा गर्ने भन्दै नियमित खोप सेवामार्फत बालबालिकालाई विभिन्न सरुवा रोगहरूबाट सुरक्षित राख्न सकिने बताउनुभयो । पूर्ण खोप सुनिश्चितता तथा यसको दीगोपना कायम गर्नु भनेको प्रत्येक बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्नु हो, उहाँले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष एंव खोप समन्वय समिति कैलाश गाउँपालिकाका संयोजक लोकबहादुर मुक्तानले नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै गाउँपालिकाभित्रका सबै लक्षित बालबालिकाहरूलाई पूर्ण खोपको पहुँचमा पु¥याई “पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा” गर्न सफल भएका बताउनुभयो ।

खोप प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो उहाँले भन्नुभयो, स्वस्थ बालबालिका नै समृद्ध समाज र समुन्नत राष्ट्र निर्माणका आधार हुन्, खोपका माध्यमबाट हामीले बालबालिकालाई विभिन्न रोगहरूको जोखिमबाट सुरक्षित राख्ने गर्दछौं ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्री, जनस्वास्थ्य कार्यालय मकवानपुरका खोप फोकल पर्सन मनिर आलम, सामाजिक विकास समितिका संयोजक तथा वडा २ का अध्यक्ष राजेन्द्र तामाङ घिसिङलगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।
कैलाशमा जन्मेदेखि १५ महिनासम्मका तीन सय सात जना बालबालिकाहरुलाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख तिलक प्रसाद गौतमले बताए । वडा १ मा १५ जना, वडा २ मा २१ जना, वठा ३ मा ४५ जना, वडा ४ मा २९ जना बालबालिकालाई खोप लगाइएको गौतमले बताए । उनका अनुसार वडा ५ मा २९ जना, वडा ६ मा १७ जना, वडा ७ मा ४७ जना, वडा ८ मा ४५ जना वडा ९ मा २४ जना र वडा १० मा ३५ जना बालबालिकालाई खोप लगाइएको छ ।




