हेटौँडा, चैत ९ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाद्वारा सञ्चालित विपन्न समुदाय लक्षित कार्यक्रम अन्तर्गत विपन्नसँग अध्यक्ष कार्यक्रमका लागि सात जनासँग सम्झौता गरिएको छ ।
गाउँपालिकामा भएको अन्तरक्रियासँगै किसान र उद्यमी गरी छनोटमा परेका सात जनासँग कार्यक्रमका लागि सम्झौता गरिएको हो ।
गाउँपालिकाले व्यापार व्यवसाय, उद्यमशीलता र कृषि तथा पशुपालनका लागि बिउपुँजी अनुदान प्रदान गर्न विपन्नसँग अध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले यसका लागि कार्यविधि बनाएको र कार्यविधिमा तोकिएको अनुदान प्रदान गर्ने भन्दै यसले विपन्न समुदायको दीर्घकालीन रुपमा आर्थिक सबलीकरणमा सहयोग पुग्ने बताउनुभयो ।
अनुदानलाई सदुपयोग गरेर व्यवसाय वृद्धि विकास गर्नेलाई गाउँपालिकाले सम्मान समेत गर्ने भएको छ ।
विपन्न वर्गलाई उपचार, काजक्रियालगायत सामाजिक क्षेत्रमा समेत सहयोग पु¥याउने गरी यो कार्यक्रम ल्याइएको पालिका अध्यक्ष मुक्तानको भनाई छ ।
कार्यक्रमका लागि १६ जनाले आवेदन दिएकोमा कार्यविधिमा भएको मापदण्ड अनुसार सात जना छनोटमा परेका हुन् ।
पालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटाका अनुसार दुई जना मौरीपालन, दुई जना टनेलभित्र तरकारी खेती तथा बाँकीले किराना, टेलर्स र कुटानी पिसानी मिलको लागि बिउँ पुँजी पाउने गरी सम्झौता भएको छ ।
छनोटमा परेकाले प्रतिव्यक्ति २० हजार रुपियाँ अनुदान पाउने छन् । गत आवमा १७ जना उक्त कार्यक्रमबाट लाभान्वित भएका थिए ।