हेटौँडा, चैत १३ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाको गत फागुन मसान्तसम्ममा पुँजीगत खर्च १४ प्रतिशतभन्दा कम भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा १९ करोड ४३ लाख ७४ हजार रुपियाँ विनियोजनभएको गत फागुन मसान्तसम्ममा १३.९८ प्रतिशत खर्च भएको हो ।
गाउँपालिकाले फागुन मसान्तसम्ममा चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालुतर्फ ३३ करोड २२ लाख ६६ हजार ३४० रुपियाँ बजेट विनियोजना भएको गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख नवीन धितालले जानकारी दिनुभयो ।
यो अवधिमा प्रदेशबाट प्राप्त अनुदानमा २४.४९ प्रतिशत खर्च र संघीय सरकारको तर्फ भने ४०.६२ प्रतिशत रकम खर्च भएको छ ।
गाउँपालिकाले चालु आवको फागुनसम्ममा वडागत आम्दानीमा १९ लाख ४२ हजार ४६९ रुपियाँ राजश्व संकलन गर्नुका साथै गाउँपालिकाले तोकिएको विभिन्न राजश्व शीर्षकमा हालसम्म प्रदेश सञ्चित कोषमा पठाएर ७४ लाख ८८ हजार ५०२ रुपियाँ राजश्व संकलन गरेको छ ।
चालु आवमा गाउँपालिकाको १३८ वटा योजना रहेकोमा केही वडाले सतप्रतिशत योजना सम्झौता गरेता पनि केही वडाले योजना सम्झौता गर्न बाँकी रहेको पालिकाको योजना तथा अनुगमन शाखाले जनाएको छ । उक्त शाखाका प्रमुख नरेन्द्र दत्त भट्टले कार्यान्वयनमा गएका केही योजना अनुगमन गरिसकेको भन्दै बाँकी योजनाको चाँडै सम्झौता गर्ने बताउनुभयो ।
त्यस्तै, पालिकाले संघीय कार्यक्रम अन्तरगत एक हजार ४८ जना किसानलाई किसान सूचीकरण कार्यक्रममा समावेश गरेको छ ।
पालिकामा विपन्न नागरिक सहयोग कार्यक्रम, सुत्केरी कार्यक्रम, चेली प्रोत्साहन कार्यक्रम, जेष्ठ नागरिकसँग जनप्रतिनिधि, आमाबुबाविहीन बालबालिका संरक्षण कार्यक्रम, घरेलु हिंसा, किशोरी कार्यक्रमहरु कार्यान्वयन भइरहेको पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो ।
पालिकामा बेमौसमी खेती, फलफूल खेती, मौरीपालन, तरकारी प्रवद्र्धन कार्यक्रम, अर्गानिक खेती कार्यक्रम, गोठखोर सुधारलगायतका कार्यक्रमहरु कार्यान्वयनमा रहेको छ ।