हेटौँडा, चैत १५ गते ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा बस र म्याजिक गाडी ठोक्किएर दुर्घटना हुँदा शुक्रबार बिहान म्याजिक गाडीका चालकको मृत्युभएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका म्याजिक गाडीका चालक मकवानपुरको राक्सिराङ गाउँपालिका ४ का ४२ वर्षीय सन्देश कोइरालाको मृत्यभएको हो ।
मकवानपुरको मनहरी गाउँपालिका ६ लोथर बजारमा चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको बागमती प्र ०३–००६ ख ५६८१ नम्बरको यात्रु बाहक बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बागमती प्र ०३–००१ च ३०१२ नम्बरको म्याजिक शुक्रबार बिहान ३ः१५ बजेको समयमा एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका कोइरालालाई उपचारका लागि चितवनस्थित चितवन नयाँ मेडिकल कलेजमा पठाइएकोमा बिहान ४ः१४ बजे अस्पतालमा चिकित्सकले जाँच गर्नेक्रममा मृत घोषणा गरेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।