हेटौँडा, चैत १९ गते ।
बागमती प्रदेश सभाको मंगलबारको लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।
बागमती प्रदेशका प्रदेश सभामुख भुवनकुमार पाठकले दिउँसो १ बजेका लागि बोलाउनुभएको बैठक दलहरुबिच सहमति नजुट्दा दिउँसो ४ बजेको लागि सारिएको थियो ।
तर लामो समयसम्म बसेको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछि बुधबार दिउँसोसम्मका लागि सूचना टाँच गरेर स्थगित गरिएको हो ।
यसअघि सभामुख पाठकको आव्हानका बिहान ८ बजेका लागि बोलाईको बैठक एक घण्टा ढिला गरी सुरु भएपनि बजेटसम्बन्धी विवादका कारण प्रदेश सभाको बैठक सञ्चालन गर्ने बारेमा सहमति जुट्न सकेन ।
प्रदेश सभाका सचिव पूर्ण बहादुर दर्जीले प्रदेश सभा बैठकसम्बन्धी सूचना जारी गर्दै विशेष कारणबस बैठक बस्न नसकेको जनाउनुभएको छ ।
बैठक विशेष कारणबस बस्न नसकेकोले सभामुखले बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी समय निर्धारण गर्नुभएको सूचनामा भनिएको छ ।
प्रदेश सभाका सचिव दर्जीले ढिला भएका कारण मंगलबारको बैठक बस्न नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, बुधबार दिउँसो १ बजे बस्ने गरी सभामुखले समय निर्धारण गर्नुभएको छ ।
यसअघि नेकपा माओवादी केन्द्रले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएसम्म प्रदेश सभाको बैठक चल्न नदिने अडान लिएपछि बैठक बस्न ढिलाई भएको थियो ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्न ढकालले विगतमा भएका सहमतिहरु तीन दिनभित्रमा कार्यान्वयन गर्ने सहमति सर्वदलीय बैठकमा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, विगतका सहमति कार्यान्वयन आजैबाट सुरु गर्ने सहमतिभएको छ ।
सर्वदलीय बैठकपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बुधबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने गरी सहमति भएको थियो ।
यसअघि मंगलबार बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले विगतको सहमति कार्यान्वयन नभएसम्म प्रदेशसभा बैठक चल्न नसक्ने निर्णय गरेको थियो ।
विगतमा सरकारले बजेटमाथिको सहमति गर्दै प्रदेश सभा सदस्यहरुको छुटेका योजना समेट्ने जनाएको थियो । सोही सहमतिअनुसार प्रदेश सभाका सदस्यहरुले संसदीय दलमार्फत योजना उपलब्ध गराए पनि हालसम्म कार्यान्वयन हुन नसकेको माओवादी केन्द्र संसदीय दलको भनाई छ ।
साथै मामओवादी केन्द्रले प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठको स्वकीय सचिवको आत्महत्याको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने जनाएको छ ।