काठमाडौँ, १९ चैत २०८१ । सरकारले आर्थिक वर्ष २०८२र८३ देखि २०८६र८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा चैत १५ र १८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको हिस्साको अनुमानित रकम स्वीकृत गर्ने र आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन सेवा केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी ऐन ५७ करोड ३० लाख अनुदान सहायता प्राप्त गर्ने भएको छ ।
सरकारले नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा चुडामणि चापागाईँलाई नियुक्त गर्ने निर्णय गरे छ ।
सरकारले चैत १५ गतेका दिन पूर्वराजाका समर्थकहरूद्वारा काठमाडौँको तीनकुने र आसपासका क्षेत्रमा भएको प्रदर्शनका क्रममा घाइते हुनेको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय गरेको छ। उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।