हेटौँडामा टोनी हेगन स्मृति पार्क निर्माणाधीन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत ३० गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १० स्थित डा. टोनी हेगन स्मृति पार्क विकास मञ्चको शनिबार हेटौँडामा चौथो साधारणसभा सम्पन्नभएको छ ।
साधारणसभाको उद्घाटन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन विकास मन्त्री बिमल ठकुरीले पार्कको विकासमा भएको प्रगतिको प्रशंसा गर्दै आगामी आर्थिक वर्षमा पार्कको लागि प्रदेश सरकारले बजेटमार्फत संवोधन गर्ने बताउनुभयो ।
साधारणसभाले सहसचिव सुरेश लामा भ्लोनले प्रस्तुत गर्नुभएको सचिवको प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन र गणेशमान श्रेष्ठले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन अनुमोदन गरेको छ ।
कार्यक्रममा पार्कमा टोनी हेगनको सालिक बनाउनु हुन मूर्तिकार लक्ष्मण भुजेल, निर्माण उपभोक्ता समितिमा रहेर पार्क निर्माणमा योगदान पु¥याउनु हुने नेत्रज्योति टोल विकास संस्थाका सचिव मोहनबहादुर खड्का र ढुङ्गेधारा निर्माण गर्नुहुने मूर्तिकार बाबुलाल वाईबालगायत सम्मान गरिएको थियो ।
मञ्चका अध्यक्ष इन्द्रप्रसाद नेपालले पार्क निर्माणाधीन अवस्थामा रहेको भन्दै पार्क परिसरमा संरचनाहरुलगायत बगैँचाहरु बढ्दै जाँदा पार्क सञ्चालन खर्च पनि बढ्दै गएकाले सञ्चालन खर्च जुटाउन कठिनाई भइरहेको बताउनुभयो ।
उहाँले यसका लागि एउटा छुट्टै अक्षय कोषको व्यवस्था गर्नु पर्ने बताउनुभयो ।साधारण सभामा हेटौँडा उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष फुर्वा दोर्जे तामाङ र कृष्णप्रसाद दहालले पार्कको महत्वको बारेमा चर्चा गर्नुभएको थियो ।
यसैबिच मा पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित डा. टोनी हेगनको स्मृतिमा पार्क निर्माणाधीन रहेको छ ।
डा. टोनी हेगन स्मृति पार्क विकास मञ्चको शनिबार हेटौँडामा भएको चौथो साधारणसभामा पार्क निर्माणमा दुई करोड रुपियाँभन्दा बढी खर्च भईसकेको जानकारी गराइएको थियो । पार्क परिसरमा सहरी आवश्यकता परिपूर्ति हुने खुलाचौर, काठ चिरान गर्ने समिलको मूर्ति र नेपालको झण्डासहितको बगैँचा, एमपी थिएटर, जेष्ठ नागरिक दिवा सेवा एवं योग ध्यान केन्द्र, सतल (फल्चा), ढुङ्गेधारा एवं ढुङ्गे बगैँचा, वाटर फाउन्टेन, वानस्पतिक बगैँचा, सार्वजनिक शौचालय, पार्किङ स्थल, पैदल मार्गलगायतका संरचना निर्माण गर्ने योजनाअनुसार कतिपय निर्माण भइसकेका र केही निर्माणाधीन अवस्थामा रहेका छन् । साधारण सभामा पार्क निर्माणमा हालसम्म दुई करोड १० लाख रुपियाँ लगानी भइसकेको भन्दै बाँकी संरचना निर्माण गर्न स्रोत सुनिश्चितताको लागि विभिन्न निकायमा पहल भईरहेको जानकारी दिइएको थियो ।

ताजा समाचार

Related Articles