मातृशिशु सेवा कक्ष निर्माण गर्न उपमहानगरद्वारा ८० लाख सहयोग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ५ गते ।
हेटौँडामा मातृ शिशु सेवा सञ्चालन गर्ने बताउँदै आएको हेटौँडा उपमहानगरपालिकाले मातृ शिशु सेवा सञ्चालनका लागि तयारीसँगै आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
हेटौँडा अस्पतालमा मातृ शिशु सेवा कक्ष स्थापना गरी सेवा उपलव्ध गराउन हेटौँडा उपमहानगरपालिका र हेटौँडा अस्पताल व्यवस्थापन तथा विकास समितिबिच मङ्गलबार सम्झौता भएको छ ।
चालु आर्थिक वर्षबाटै सेवा प्रदान गर्न अस्पतालको नयाँ भवनको माथिल्लो तल्लामा मातृशिशु कक्ष निर्माण गर्ने गरी उपमहानगरपालिका र समितिबिच सम्झौता भएको हो । यसका लागि उपमहानगरपालिकाले अस्पताललाई ८० लाख रुपियाँ उपलब्ध गराउने भएको छ । हेटौँडा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजेश प्रसाईँ र उपमहानगरपालिकाको पूर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण शाहले मातृशिशु कक्ष निर्माणमा सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापछि उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले मातृशिशु कक्ष निर्माण गर्न अस्पताल विकास समितिलाई ८० लाख रुपियाँ दिने बताउँदै व्यवस्थित रुपमा अस्पताल सञ्चालन गर्नसकेमा उपचारका लागि बाहिरी जिल्ला जानुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । उहाँले सम्झौतासँगै हेटौँडामा मातृशिशु ( प्रसूति ) अस्पताल सञ्चालन गर्न पहिलो चरणको कामको सुरुवात भएको बताउनुभयो ।
सिमितिका अध्यक्ष प्रसाईँले तीन किस्तामा उपलब्ध हुने सहयोग रकमबाट अस्पताल व्यवस्थापनले ठेक्कामार्फत आउँदो चैत्रसम्ममा भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाईने जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षमा एक तल्ला पूर्वाधार निर्माणका लागि रकम विनियोजन गरे बमोजिम उक्त सम्झौताभएको हो ।
निर्माण गरिने संरचना मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण एवम् अभ्यास कक्षको रुपमासमेत प्रयोग हुने सम्झौतामा उल्लेख छ ।

ताजा समाचार

Related Articles