खासकुरा संवाददाता
हेटौँडा, वैशाख ६ गते ।
हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्युन चापीय रेखाको पनि प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।
आगामी २४ घण्टा कोशी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।