शिक्षकपछि अब निजामती कर्मचारी आन्दोलित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ८ गते ।
शिक्षकहरुको काठमाडौँ केन्द्रित सडक आन्दोलन जारी हुँदै गर्दा निजामती कर्मचारी पनि आन्दोलित बनेका छन् ।  
नेपाल शिक्षक महासंघको आव्हानमा २० औँ दिन सोमबार काठमाडौँमा विरोध प्रर्दशन जारी रहँदा निजामती कर्मचारीहरुले सोमबारनै देशका सबै जिल्ला प्रशासन कार्यालय र सातवटै मुख्यमन्त्री कार्यालयमार्फत संघीय निजामती सेवा ऐन माग गर्दै संघीय संसदका सभामुख समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षक आन्दोलनरत छन् ।
यसैबिच राष्ट्रियस्तरका ट्रेड युनियनहरुले संयुक्त रुपमा संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न संघीय संसद र सरकारसँग माग गरेका छन् ।   
निजामती कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न चक्रीय र पूर्वानुमान योग्य बनाउनु पर्ने भन्दै संघीय संसदका सभामुख समक्ष निजामती कर्मचारी आवद्ध विभिन्न युनियन र संगठनहरुले यस्तो माग गरेका हुन् ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत सभामुख समक्ष संयुक्त रुपमा ज्ञापनपत्र पठाउँदै ट्रेड युनियनहरुले संघीय निजामती सेवाको गठन, संञ्चालन र सेवाको सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदनसहित अब बस्ने प्रतिनिधि सभाको प्रथम बैठकभन्दा अगावै पठाउनसमेत माग गरेका छन् ।
संघीय निजामती सेवा ऐन निर्माण गर्दा राष्ट्रियस्तरका ट्रेड युनियनबाट संयुक्त रूपमा विगतमा पेश गरिएका ८५ बुँदे मागहरू, २०७८ माघ १२ गते सर्वोच्च अदालतले संघीय निजामती सेवा निर्माण गर्दा पालन गर्नुपर्ने निर्देशनात्मक आदेश र स्थानीय तहका कर्मचारीको आन्दोलन पश्चात नेपाल सरकार र राष्ट्रियस्तरका ट्रेड युनियनबीच २०८० असोज २७ गते भएको सम्झौतामा उल्लेख भएका मागहरूलाई संश्लेषण गरी पेश गरिएका मागहरुलाई अनिवार्य रूपमा समावेश गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।   
ज्ञापन–पत्रमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई निजामती कर्मचारी भन्ने परिभाषामा समेट्नु पर्ने, सामूहिक सौदावाजी सहितको राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनु पर्ने, संघीय निजामती सेवा ऐन जारी भएपछि संघीय कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समयोजनको लागि छनौटको अवसर प्रदान गर्नु पर्ने माग गरिएको छ ।
नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश अध्यक्ष श्रीराम लम्साल, नेपाल निजामती कर्मचारी युनियन बागमती प्रदेश कार्य समितिका अध्यक्ष बरुणकुमार साह, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश अध्यक्ष राजु अर्याल र स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन, नेपालका बागमती प्रदेश ईञ्चार्ज प्रतीक तामाङको नेतृत्वमा बागमती प्रदेशका प्रमुख सचिवमार्फत ज्ञापनपत्र बुझाइएको हो ।
यस्तै कर्मचारी युनियन र संगठनका पदाधिकारीलगायतले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत सभामुख समक्ष आफ्ना ११ बुँदै मागसहितको ज्ञापनपत्र बुझाउनुभएको छ ।

ताजा समाचार

Related Articles