विपद् प्रतिकार्य योजना बनाउँदा जेष्ठ नागरिकलाई सहभागी गराउनु माग

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ ६ गते ।
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउने बेलामा जेष्ठ नागरिकलाई पनि सहभागी गराउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राधिकरणद्वारा आयोजित “जेष्ठ नागरिकका लागि विपद् पूर्वतयारी“ विषयक विपद् संवादमा जेष्ठ नागरिक अभियन्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । राष्ट्रिय जेष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष गौरीशंकर लाल दासले स्थानीय पालिकाहरुले विपद् पूर्वतयारीको काम गर्दै गर्दा जेष्ठ नागरिकहरुको अनुभव पनि सुन्नुपर्ने बताउनुभयो । विपद्पछिको उद्धार र प्रतिकार्यमा जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी औषधी, सुपाच्य भोजन, शौचालयमा ’कम्मोट’ को व्यवस्था गरिनु पर्नेमा ध्यानाकर्षण गराउनु भयो । यसैगरी अनुसन्धाता द्वारिकानाथ ढुंगेलले जेष्ठ नागरिकको वास्तविक तथ्याङ्क संकलन गरी सोही अनुसारको कार्यक्रम र योजना बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जीवराज पोखरेलले स्थानीय निकायले सिमुलेसन र ड्रिल गर्दा जेष्ठ नागरिकलाई पनि सहभागी गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय जेष्ठ नागरिक महासंघका बरिष्ठ उपाध्यक्ष अम्बिका केसीले जेष्ठ नागरिकका ज्ञान र सीपलाई पनि उपयोग गर्नुपर्ने बताउनु भयो । संवादमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरणका लागि जेष्ठ नागरिकहरुको ज्ञान र सीप महत्वपूर्ण हुने भन्दै कार्यक्रममा आएका सुझाव र विचारहरुले आफूलाई ठूलो बल पुगेको धारणा व्यक्त गर्नुभयो ।

ताजा समाचार

Related Articles