खासकुरा संवाददाता
हेटौँडा, वैशाख ११ गते ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोकतन्त्रमा जनताको भरोसा जागृत गराउन सबैको प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ । 
लोकतन्त्र दिवस–२०८२ को अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, शुसासन कायम गर्ने, जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र जनताको भरोसा जागृत गराउन सबैको प्रतिबद्धता आवश्यक भएको बताउनुभएको हो ।
वैशाख ११ गते लोकत्रन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी शुभकामना सन्देशमा प्रदेश प्रमुख देवकोटा लोकतन्त्र स्थापनामा आफ्नो प्राणको आहुति दिने महान सहिदहरूप्रति उच्च सम्मान भावका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
“निरंकुशताविरुद्ध नेपालको इतिहासमा वि.स. २०६२/२०६३ मा भएको आम नेपालीको सहभागिताको जनआन्दोलन भाग–२ को परिणामस्वरूप आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट अभ्यासमा छौँ “ उहाँले सन्देशमा भन्नुभएको छ।
नेपाली जनताले लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त गरेको लोकतान्त्रिक मूल्य र मान्यता गौरवको धरोहर भएको उहाँले उल्लेख गर्नुभएको छ।
लोकतन्त्र सार्वभौम नागरिक र नागरिकको स्वतन्त्रताको सर्वोच्चता स्थापित गर्ने दर्शनबाट अभिप्रेरित व्यवस्था हो ।
“सबैले लोकतान्त्रिक प्रणालीको संस्थागत विकास, मौलिक र मानव अधिकारको संरक्षण, सुशासन, प्रवद्र्धन र न्यायमूलक समावेशी समाज निर्माणका लागि अझ दृढ प्रतिबद्धता जनाउनु आवश्यक छ“ उहाँले सन्देशमा भन्नुभएको छ।
लोकतन्त्र शासन व्यवस्था मात्र नभई जनताको सहभागिता, समानता, पारदर्शिता र उत्तरदायित्वमा आधारित सभ्य र सहिष्णु समाजको आधारशिला भएको उहाँले बताउनु भएको छ । यसलाई मजबुत बनाउन हामी सबै क्रियाशील रहनुपर्दछ । हामी आफ्ना कर्तब्यप्रति निष्ठावान र अधिकारप्रति सचेत भै लोकतन्त्रलाई संस्थागत गर्दै समृद्ध देश निर्माणमा अघि बढ्नुपर्ने शुभकामना सन्देशमा उल्लेख छ ।
“आजको दिनले आफ्ना सैद्धान्तिक विचार र राजनैतिक दर्शनभन्दा एक कदम माथि उठेर राष्ट्रहित र आम जनताको भलाईमा लाग्न सम्पूर्ण राजनैतिक दल र नागरीक समाजलाई प्रेरणा दिने विश्वास लिएको छु“ उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।
यो महान दिनले हामी सबैमा एकता, मेलमिलाप, सहिष्णुता र जिम्मेवार नागरिकको भावना जागृत गराउनेछ भन्ने कामना उहाँले गर्नुभएको छ ।




