खासकुरा संवाददाता
हेटौँडा, वैशाख १६ गते ।
मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङजन्य प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न चट्याङ पूर्व प्रणाली जडान गरिएको छ । 
चट्याङसम्बन्धी पूर्व सूचना दिने सेन्सरसहितको उपकरण मंगलबार एक कार्यक्रमका बीच राक्सिराङ गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।
दक्षिण एसियाली चट्याङ सञ्जालका अध्यक्ष श्रीराम शर्माले दक्षिण एसियामै पहिलोपटक नेपालमा यो प्रणालीको प्रयोग गर्न लागिएको जानकारी दिनुभयो । “यस यन्त्रले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्र चेतावनी दिन सक्छ,” शर्माले भन्नुभयो । उहाँले भन्नुभयो, यो प्रविधिको यसअघि नगरकोटमा सफल परीक्षण गरिएको थियो । यो प्रणालीले चट्याङ्ग आउनुभन्दा करिब १६ मिनेटअघि पूर्वसूचना दिनेछ, जसले सर्वसाधारणलाई सुरक्षित स्थानमा जानको लागि सन्देश प्रवाह गर्ने अनुसन्धानकर्ता शर्माले बताउनुभयो ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ चट्याङजन्य उच्च विपद्का दृष्टिले जोखिमयुक्त क्षेत्र भएकाले धनजनको सुरक्षाका लागि यस्तो प्रविधिको अत्यावश्यक रहेको बताउनुभयो । “पूर्व सूचना पाउने भएपछि हामीलाई चट्याङबाट सचेत हुन र सुरक्षाका उपाय अपनाउन सहज हुनेछ,” अध्यक्ष मल्लले भन्नुभयो ।
स्थानीय स्तरमा यस प्रविधिको स्थापना हुँदै गर्दा समुदायमा चट्याङप्रति सचेतना अभिवृद्धि हुने र समयमै सुरक्षित ठाउँ खोज्न र पुग्न सकिने उहाँको भनाई छ ।
प्राविधिक टोलीले छिट्टै प्राप्त सबै साइरन यन्त्रहरू जडान गर्नेभएको छ । पिपुल इन निडको आर्थिक सहयोग र साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा एउटा मुख्य सेन्सर र आठ वटा साइरन सिस्टम पालिकालाई हस्तान्तरण गरिएको हो । पालिकाको वडा नं. ५ को चैनपुरमा मुख्य सेन्सरसहितको साइरन, वडा नं. १ को राम्चे, वडा नं. २ र ३ को भाट्टी, वडा नं. ४ को वडा कार्यालय, वडा नं. ६ को सिलिङ्गेको विद्यालय भवन, वडा नं. ७ को गर्लिङ, वडा नं. ८ को पाङ्बुङ र वडा नं. ९ को प्रहरी चौकी कान्द्राङमा साइरन प्रणाली राखिने छ ।




