खासकुरा संवाददाता
हेटौँडा, वैशाख २० गते ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तन भएपनि जनताको जीवनस्तरमा अझै पनि सकारात्मक परिवर्तन आउन नसकेको बताउनुभएको छ । 
मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा मकवानपुरको चौथो वार्षिक साधारणसभाको अवसरमा शनिबार हेटौँडामा आयोजित कार्यक्रममा बोल्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तन र नयाँ संविधान आएपनि जनताले सकारात्मक परिवर्तनको महशुस गर्ने गरी सामाजिक र आर्थिक रुपान्तरणको कार्य अझै पर्याप्त हुन नसकेको उहाँले बताउनुभयो ।
राजनीतिले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने भन्दै उहाँले समाजको आर्थिक र सामाजिक व्यवस्थाको रुपान्तरणलाई मूल लक्ष्य बनाएर अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।
फाउण्डेसन मकवानपुरले यो वर्षको “श्रीचन्द्र शर्मा स्मृति सम्मान” हेटौँडा–८ की सुभद्रा रेग्मीलाई प्रदान गरेको छ । पूर्व राष्ट्रपति भण्डारीले नगद १५ हजार ५५५ रुपियाँसहित रेग्मीलाई सम्मान गर्नुभएको थियो ।
पञ्चायती निरंकुशताबिरुद्धको लडाईमा सक्रिय सहभागी हुँदै भूमिगत कालमा सेल्टरदाताको रुपमा समेत योगदान गरेको स्मरण गर्दै रेग्मीलाई सम्मान गरिएको हो ।
यस्तै साधारणसभाले पुनः रघुनाथ खुलालको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।




