खासकुरा संवाददाता
हेटौँडा, वैशाख २० गते ।
हेटौँडामा शनिबार भएको छुट्टाछुट्टै कार्यक्रममा चार जना स्रष्टालाई सम्मान गरिएको छ । 
बुढ्यौली साहित्य समाज मकवानपुरले साहित्यकारद्वय देवीप्रसाद घिमिरे र देवराज खरेललाई सम्मान गरेको हो । 
बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुरका घिमिरेलाई २५ हजार राशिसहित तुल्सी थापा स्मृति सम्मान र मकवानपुरका खरेललाई नगद २० हजार रुपियाँसहित तोयानाथ रिजाल स्मृति सम्मान प्रदान गरिएको थियो । 
कार्यक्रममा बुढ्यौली साहित्यका अभियन्ता तथा एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतम (चट्याङ मास्टर) ले सम्मान प्रदान गर्नुभएको थियो । 
यस्तै शनिबार नै सिस्नुपानी नेपाल मकवानपुरले दुई हास्य व्यङ्ग्यकारलाई सम्मान गरेको छ ।
सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा सिस्नुपानी नेपालका तथा एजिङ नेपालका संस्थापकसमेत रहनुभएका कृष्णमुरारी गौतम चट्याङ मास्टरलाई डाक्टर गणेशकुमार पौडेल स्मृति सम्मान २०८१ बाट सम्मानित गरिएको हो ।
सो पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ ।
उक्त पुस्कार सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष स्वर्गीय डा. गणेशकुमार पौडेलको परिवारजनले सम्मानमा स्थापना गर्नुभएको हो ।
यस्तै युवा हास्यव्यङ्ग्य कलाकार सुवोध गौतमलाई आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८१ प्रदान गरिएको छ । १५ हजार ५५५ रूपियाँ राशिको सो सम्मान सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले स्थापना गर्नुभएको हो ।




