काठमाडौँ, वैशाख २१ गते ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) को आयोजनामा आइतबार काठमाडौँमा विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम विषयक एकदिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ। 
उक्त सम्मेलनमा नेपाल तथा विदेशका नीति निर्माता, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि र विद्यार्थीहरू सहभागी हुनेछन्। उनीहरूले विश्वविद्यालयको दीर्घकालीन दृष्टि, रणनीति र अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्नका लागि आवश्यक पहलहरूबारे छलफल गर्नेछन्।
विश्वविद्यालयका अध्यक्ष डा.राजेन्द्रध्वज जोशीका अनुसार सम्मेलनको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु र नवस्थापित विश्वविद्यालयको प्रभावकारी सञ्चालनका लागि व्यापक समर्थन जुटाउनु हो। उहाँका अनुसार हालसम्म एक करोड २५ लाख रुपियाँ बराबरको आर्थिक सहयोग संकलन भइसकेको छ।
विशेष विश्वविद्यालय सञ्चालन ऐनमार्फत स्थापना भएको यस विश्वविद्यालयमा ३४ जना स्नातकोत्तर तथा विद्यावारिधि तहका विद्यार्थी अध्ययनरत छन्।
सम्मेलनमा प्रमुख वक्ताको रूपमा सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक तथा एमबियूएसटीका ट्रस्टी प्रो. सीरम रामकृष्णले सम्बोधन गर्नुहुनेभएको छ ।
विश्वस्तरीय विश्वविद्यालय निर्माणः सरोकारवालाको सहभागिता विषयमा हुने प्यानल छलफल बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले सञ्चालन गर्नु हुने छ । छलफलमा एमबियूएसटीका ट्रस्टी तथा पूर्व महानियन्त्रक भानु आचार्य,
राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्ष प्रा गोविन्दराज पोखरेल, एमबियूएसटी अध्यक्ष डा. राजेन्द्रध्वज जोशी, सांसद महेशकुमार बर्तौला, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा. डा. संगीता सिंहलगायतले आफ्नो विचार व्यक्त गर्नुहुनेभएको छ । सम्मेलनमा करिब चार सय सहभागीह र ३० भन्दा बढी वक्ताको उपस्थिति रहनेछ। आयोजकका अनुसार यस सम्मेलनबाट एमबियूएसटीलाई नवप्रवर्तनशील, अन्तर्राष्ट्रिय रूपमा सञ्जाल विस्तार गर्ने र भविष्यमा विश्वस्तरीय शैक्षिक संस्था बनाउने दिशामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।




