हेटौँडा, वैशाख २१ गते ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको बजेटमा कृषि र उत्पादनलाई प्राथमिकता दिइे बताउनुभएको छ । 
आयआर्जन र रोजगारी सिर्जना गर्ने क्षेत्र कृषि भएकोले कृषिमा प्राथमिकता दिन स्थानीय तहहरुलाई आग्रह गर्दै उहाँले आगामी आवको बजेटमा वितरणमुखी बजेटलाई निरुत्साहित गरिने बताउनुभयो ।
बागमती प्रदेशको आठौँ बजेट ल्याउने तयारीको क्रममा सरोकारवालाहरुसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विगतमा बनेका वितरणमुखी बजेटले प्रतिफल दिन नसकेको भन्दै आगामी आवमा वितरणमुखी बजेट नआउने बताउनुभयो ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बागमती प्रदेशका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुसँग आगामी आव २०८२÷०८३ को बजेट तर्जुमासम्बन्धी आइतबार हेटौँडामा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा विकासका लागि तीनै तहको सरकारबिच समन्वय र सहकार्य आवश्यकभएको बताउनुभयो ।
उहाँले विगतका बजेटहरु वितरणमुखीभएको र अनुदानमा चुहाहटभएको भन्दै उहाँले भन्नुभयो वितरणमुखी योजनाका कारण विगतमा प्रदेश सरकारले लगानी गरेका योजनाबाट प्रतिफल प्राप्त हुन सकेन ।
प्रदेश सरकार उत्पादन दिने आयोजना र कार्यक्रममा लगानी गर्न ईच्छुक रहेको छ उहाँले अगाडि भन्नुभयो, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रदेश सरकारले उत्पादनमुखी योजनालाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको छ । उत्पादन, रोजगारी र आयआर्जनका लागि कृषिमा स्थानीय तह र प्रदेश सरकारबिच साझेदारीमा लगानी काम गर्नुको विकल्प नभएको उहाँको भनाई छ ।
स्थानीय तहसँगको लागत साझेदारीका योजनालाई प्राथमिकता दिने गरी आगामी आवको कार्यक्रम र बजेट ल्याइने उहाँले बताउनुभयो ।
प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष डा. गंगादत्त नेपालले नीति तथा कार्यक्रम बनाउने तयारी भईरहेको प्रदेशका योजनाहरुको अनुगमन र मूल्याङ्कनका लागि कानुन बनाउने तयारी भईरहेको जानकारी दिनुभयो ।
उहाँले प्रदेशले लगानी गरेका योजनाहरुको प्रभाव मूल्याङ्कनको काम भईरहेको भन्दै विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालयहरु मर्ज आवश्यकभएको औँल्याउनुभयो ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका केन्द्रीय सचिव पार्वती सुनुवारले प्राविधिक शिक्षालाई आगामी आवको बजेटमा प्राथिमितकामा राख्नुपर्ने भन्दै कृषि औजार उपकरण उत्पादनमा प्रदेशको लगानी आवश्यकभएकोमा जोड दिनुभयो ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष कर्णबहादुर मगरले पालिकाको केन्द्र जोड्ने सडकले कालोपत्रेसहित पूर्णता पाउनुपर्ने पहुँका आधारमा योजना पार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले योजना बैंक आगामी आवको बजेटबाट पूर्ण रुपमा कार्यान्वयनमा ल्याइने बताउनुभयो ।
स्थानीय तह र प्रदेश सरकारबिच समन्वयको अभावमा योजनाको लागत बढेको र सुशासन दिन नसकेको उहाँको भनाई छ ।
पूर्व बजेट छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय र सहकार्य बिना लगानी गरेका कयौँ योजनाहरु अधुरा र अलपत्र अवस्थामा रहेकोले ती योजनाहरुलाई आगामी आवको बजेटमा प्राथमिकतामा राखेर सम्पन्न गर्न सुझाएका थिए ।




