हेटौँडा, वैशाख २८ गते ।
देशका विभिन्न स्थानमा रहेका मानवसेवा आश्रममा एकीकृत मानसिक स्वास्थ्य उपचार तथा परामर्श क्लिनिक सेवा स्थापना गरिनेभएको छ । 
हेटौँडामा केन्द्रीय कार्यालय रहेको मानवसेवा आश्रम र नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ, काठमाडौँबिच क्लिनिक सेवा स्थापना गर्ने गरी सम्झौताभएको हो ।
मानवसेवा आश्रममा रहेका सहयोगापेक्षीहरुमा मानसिक रोग वा मनोसामाजिक समस्या भएका व्यक्तिहरुकोलागि एकीकृत मानसिक स्वास्थ्य सेवा सञ्चालन गर्न दुई संस्थाबिच सम्झौता गरिएको आश्रमले जनाएको ।
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले सो आश्रममा रहेका व्यक्तिहरुको मानसिक स्वास्थ्य सेवालाई लक्षित गरी आवश्यक सहयोग पु¥याउने उद्देश्यसहित उक्त सम्झौता गरिएको सम्झौतापत्रमा उल्लेख छ ।
सडकजीवन बिताउन विवश, घरबार विहीन, बेसहारा तथा जीवन जोखिममा रहेका अनाथ, अशक्त, असहाय एवं सहयोगापेक्षी मानवहरुको उद्धार, पालनपोषण, संरक्षण, पुनर्स्थापना एवं पारिवारिक पुनर्मिलन कार्य मानवसेवा आश्रमले गर्दै आएको छ ।
मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी र नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका अध्यक्ष श्रीधर पौडेलद्वारा हस्ताक्षरित सम्झौतापत्रमा मानवसेवा आश्रमको सबै शाखामा रहेका सहयोगापेक्षीहरुको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यमा सुधार गर्न एकीकृत मानसिक स्वास्थ्य उपचार तथा परामर्श क्लिनिक सेवा स्थापना गर्ने भनिएको छ ।
मानवसेवा आश्रमको सबै शाखाहरुमा रहेका सहयोगापेक्षीहरुको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यमा सुधार गरी पुनस्र्थापित जीवनयापन उत्पादनशील र गुणस्तरीय बनाउन मद्दत गर्ने, मानसिक स्वास्थ्य समस्या पहिचानको पहुँच विस्तार गर्ने, मानसिक स्वास्थ्य शिक्षा, सचेतना सम्वन्धी ज्ञान, सीप विकास र व्यवहार परिवर्तनमा आवश्यक पहल गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ ।
साथै सरोकारवालाको सहकार्य गरी परिवार र समुदायमा मानसिक स्वास्थ्य सेवालाई पहुँचयोग्य र महत्वको विषय बनाउन आवश्यक पहल गर्ने गरी सम्झौताभएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
सम्झौता भएसँगै आश्रममा आश्रितहरुको मानसिक स्वास्थ्य सेवालाई प्राथमिकताका साथ सेवा प्रदान गर्न नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ र मानवसेवा आश्रमले सयुंक्त रुपमा कार्यक्रम कार्यान्वयन गर्ने भएका छन् ।
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले मनोचिकित्सक मार्फत मानसिक स्वास्थ्य सम्बन्धित औषधि तथा उपचारको आवश्यक सिफारिस गर्ने, गम्भीर मनोरोग, मानसिक स्वास्थ्य समस्या, लागुपदार्थको प्रयोगबाट वा विविध दुखत आघात आदिको विकारबाट उत्पन्न मानसिक समस्या÷मनोरोगको लागि प्रत्यक्ष उपचार तथा मनोचिकित्सा परामर्श सेवा प्रदान गर्ने र मानसिक रोग केन्द्रित औषधि उपचार सेवा प्रदान गर्नेभएको छ ।
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले आवश्यक प्राथमिक चिकित्सकीय सेवा उपलब्ध गर्न सहयोग गर्ने, नियमित फलोअप सेवा प्रदान गर्ने, विश्लेषण, लेखाजोखा र मूल्याङ्कन गर्ने, नियमित अनुगमन, प्रभाव मूल्याङ्कन र सुधारको योजना गर्ने गरी दुई संस्थाबिच सम्झौताभएको सम्झौतापत्रमा भनिएको छ ।




