काठमाडौँ, वैशाख २८ गते।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुभएको छ। यही वैशाख २२ देखि २८ गतेसम्म प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि भएका छलफलमा १५६ सांसदले भाग लिनुभएको थियो।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट विसं २०८२ वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारकोतर्फबाट आभार तथा धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले सरकारको प्रस्तुत नीति तथा कार्यक्रममाथि प्रतिनिधि सदस्यहरूबाट टिप्पणी र संशोधन प्रस्तावमार्फत प्राप्त रचनात्मक सुझावका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उहाँले अहिलेको सरकार र यो समीकरण निर्माणका मूलतः दुई उद्देश्यहरु पहिलो देशमा व्याप्त गहिरो निराशा हटाई जनतामा आशा तथा उत्साहको सञ्चार गर्ने र दोस्रो देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा अघि बढाउने भएको सो अवसरमा बताउनुभएको थियो ।
नीति तथा कार्यक्रम यी उद्देश्य पूरा गर्नेमा केन्द्रित हुने भन्दै उहाँले नीति कार्यक्रम १० मूल नीतिमा आधारित रहेको बताउनुभयो ।




