खासकुरा संवाददाता
हेटौँडा, वैशाख २८ गते ।
मकवानपुर प्रहरीले हेटौँडाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित छ जनालाई पक्राउ गरेको छ । 
हेटौँडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरी वडा कार्यालय नजिकै सडकबाट स्थानीय अजित दोङ र विनय लामालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शंकास्पद रुपमा बसिरहेको अवस्थामा खानतलासी गर्ने क्रममा निजहरुको साथबाट लागूऔषध ट्रामाडोल फेलाको प्रहरीको भनाई छ ।
वर्ष २५ को दोङ र वर्ष २१ का लामाको साथबाट लागूऔषध ट्रामाडोल २५ क्याप्सुल फेला परे हो । उक्त लागूऔषधका बारेमा सोधपुछ गर्दा मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ घर भई हाल हेटौँडा २ मानसचोकस्थित नेपाली चुलो होटलको संचालक सरिता माझीसँग खरिद गरी ल्याएको बताएपछि माझीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा बागमती गाउँपालिका वडा नं. ४ घर भई हाल हेटौँडा २ बस्ने वर्ष २२ को उदेश राई र हेटौँडा ९ बस्ने वर्ष २९ को मनिष तिमल्सिना रहेका छन् । प्रहरीले उनीहरुको साथबाट लागूऔषध ट्रमाडोल २६२ क्याप्सुल र ३० ग्राम गाँजा फेला पारेको छ ।
पाँचै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध कसुर मुद्दामा सात दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।
यस्तै प्रहरीले हेटौँडा १० सडक डिभिजन कार्यालय अगाडि पूर्व पश्चिम सडकखण्डमा नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदैं गरेको ना. १३ प २१३६ नम्वरको मोटरसाईकलमा सवार हेटौँडा ११ मा बिनय लामालाई लागूऔषध ट्रमाडोल २० ट्याब्लेटसहित पक्राउ गरेको छ ।
उक्त लागूऔषध, मोटरसाइकलसहित निज लामालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट सात दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




