खासकुरा संवाददाता
हेटौँडा, वैशाख २८ गते ।
नेपाल चेपाङ संघ केन्द्रीय समितिले बागमती प्रदेशभित्रका चेपाङ समुदाय बाहुल्य रहेको क्षेत्रलाई चेपाङ स्वायत्त र सरक्षित क्षेत्र घोषणा गर्न बागमती प्रदेश सरकारसँग माग गरेको छ ।
संघ केन्द्रीय समितिले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलगायतलाई आइतबार अनुरोध पत्र बुझाउँदै यस्तो माग गरेको हो ।
संघले मुख्यमन्त्री लाम, प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाललाई १४ बुँदे मागसहितको अनुरोधपत्र बुझाएको छ ।
चेपाङ समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक स्तरीकरण वृद्धिका लागि चेपाङ स्वायत्त र सरक्षित क्षेत्र घोषणाको लागि सम्भाव्यता अध्ययन तथा स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषण गर्न नीतिगत व्यवस्था गर्न संघले प्रदेश सरकारसँग माग गरेको छ ।
संघका अध्यक्ष एवं संविधान सभा सदस्य गोविन्दराम चेपाङ, संविधान सभा सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर प्रजालगायतको टोलीले अनुरोध पत्र बुझाउन जानुभएको थियो ।
संघले प्रदेश सरकारसँग आगामी आवमा चेपाङ संरक्षित क्षेत्र घोषणा गरी विशेष कामर्यक्रम र बजेटको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेको संघका अध्यक्ष गोविन्दरामले बताउनुभयो ।
चेपाङ संघको अनुरोध पत्र बुझ्दै बागमती प्रदेशका मुख्यमन्त्री लामा, मन्त्री काफ्ले र उपाध्यक्ष नेपालले चेपाङ समुदायको मागप्रति वर्तमान सरकार संवेदनशील रहेको भन्दै आगामी आवको बजेटमा माग संवोधन गर्न प्रयास गर्ने बताउनुभयो ।
अध्यक्ष गोविन्दरामले चेपाङ समुदायको बालबालिका घरमा पेटभरी खाने खानेकुराको अभावबीच विद्यालय जान बाध्य ती विद्यार्थीहरुमध्ये वार्षिक कम्तिमा १० जना चेपाङ बालबालिकालाई प्राविधिक शिक्षा सूचना र प्रविधि, कृषि प्रविधि, वन विज्ञान, कानुन विषयमा निःशुल्क अध्ययन गर्न पाउने गरी आगामी आवको बजेटमा व्यवस्था गरिदिनु पर्नेलगायतका माग सरकार राखिएको बताउनुभयो ।




