अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचानः मुख्यमन्त्री लामा

लोकप्रिय

हेटौँडा, वैशाख २९ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएको बताउनुभएको छ ।
बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री लामाले यस्तो बताउनुभएको हो ।
बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औं बुद्ध जयन्ती साथै वैशाख पूर्णिमाकै दिन किराँत समुदायको महान् पर्व उभौलीको पर्वको अवसरमा मुख्यमन्त्री लामाले बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसा प्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक परम्पराहरू छन् भन्दै उहाँले यस्ता सांस्कृतिक पर्वले प्रदेशको मात्र नभई सिङ्गो देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपाली बीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन् ।
शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको भन्दै मुख्यमन्त्री लामाले शुभकामना सन्देशमा शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने उल्लेख गर्नुभएको छ ।
उभौली पर्व वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरू हुने भएकोले प्रकृति पूजक किराँत समुदायले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बालीको पूजाका साथमा विभिन्न परम्परागत नृत्य गर्दै र मिष्ठान्न परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग यो पर्व मनाउने परम्परा रहिआएको शुभकामना सन्देशमा भनिएको छ । विशेष सांस्कृतिक पर्वको रूपमा रहेको उभौली पर्वले संस्कृतिको जगेर्ना, मौलिक उत्पादन र पहिचानको संरक्षणमा जोड दिने भएकोले समस्त प्रदेशवासीहरूमा संस्कृतिको संरक्षण तथ उत्पादन र उद्यममा जोडिनसमेत मुख्यमन्त्री लामाले शुभकामना सन्देशमार्फत आव्हान गर्नुभएको छु ।
पर्वले हामी सबैलाई आपसी सद्भावकासाथ मिलेर अगाडि बढ्न प्रेरणा प्राप्त हुने विश्वासकासाथ राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउने तर्फ अभिप्रेरित गर्न सकोस् भन्दै मुख्यमन्त्री लामा बुद्ध जयन्ती र उभौली पर्वको समस्त सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

ताजा समाचार

Related Articles