काठमाडौँ, जेठ १० गते।
प्रहरीले काठमाडौँको कोटेश्वरबाट नगद र सुनचाँदीसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. ३२ कोटेश्वर सेती ओपी मार्गबाट भारतको महाराष्ट्र घर भएका २७ वर्षीय योगेश श्रीमन्त मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

श्रीराम ज्वेलर्शका सञ्चालक २७ वर्षीय योगेशको साथबाट २८ लाख ९३ हजार नगद बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी वरिष्ट प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार नौ केजी पाँच सय ग्राम चाँदी र अवैध तरिकाले संकलन गरिएको ७३४.२९ ग्राम सुन प्रहरीले बरामद गरिएको छ ।




