खासकुरा संवाददाता
हेटौँडा, जेठ १२ गते ।
मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा मनसुनको समयमा प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा आवश्यक पूर्वतयारी थालिएको छ ।

विपद् व्यवस्थापन समितिको सोमबारभएको बैठकमा चट्याङ्ग पूर्वसूचना प्रणालीको जडान, भाडाकुँडा तथा सिरक–डसना खरिद, डडेलो व्यवस्थापन सम्बन्धी तालिमको सञ्चालन तथा प्रभावितहरूलाई राहत वितरणलगायतको कार्यको बारेमा छलफल गरिएको थियो।

बैठकले प्रि–मनसुन अवधिमा आउने हावा हुरी तथा भारी वर्षाका कारण हुन सक्ने क्षतिको आँकलन गरी पूर्वतयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। साथै, विपद् व्यवस्थापनमा संलग्न स्वयंसेवकहरूलाई सुरक्षा निकायको समन्वयमा कृत्रिम अभ्यास सहितको पुनर्ताजगी तालिम सञ्चालन गरिनेभएको छ।

यस्तै, विपद्को कारण क्षति पुगेका मोटरबाटोलाई ग्रावेल गर्ने, हेलिप्याड, खानेपानी मुहान र पाइपलाइनको सुरक्षा, खुला ठाउँ तथा आश्रयस्थलको व्यवस्थापनमा विशेष ध्यान दिने, सूचनाप्रति चनाखो रहने र क्षति भएका घटनाहरू तत्काल नगर प्रहरीलाई जानकारी गराउने निर्णय गरिएको छ।

गाउँपालिका अध्यक्ष राज कुमार मल्लले बैठकको समापनमा बोल्दै विपद् व्यवस्थापनमा स्थानीय तहको सक्रियता र समन्वय अपरिहार्य रहेको भन्दै समुदायस्तरमा समेत सजगता र सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो ।

विपद् पूर्वतयारी नै प्रभावकारी व्यवस्थापनको आधार हो। हामी सतर्क र सशक्त भएर अगाडि बढ्नुपर्छ।” उहाँले भन्नुभयो ।

बैठकमा सहभागी सरोकारवाला निकायहरूले आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए । गाउँपालिका अध्यक्ष राज कुमार मल्लको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष बनस्तम थिङ, प्रशासकीय प्रमुख पदम बहादुर बस्नेत, वडाध्यक्षहरू, रेडक्रस प्रतिनिधिलगायत सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।




