हेटौँडा, जेठ १३ गते ।
कुरियो टिप्न पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा गएका मकवानपुरको मनहरीका एक जना पाँचौ दिनमा मृत फेला परेका छन् ।
कुरिलो खोज्न गएका मकवानपुरको मनहरी गाउँपालिका र्२ का श्यामबहादुर ब्लोनलाई पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका १ रामभऔरी नजिकै रहेको शितलपुर जंगलमा मृत अवस्थामा फेला पारिएको हो ।

गत बिहीबार कुरिलो टिप्न गएका तीन जनामध्ये ब्लोन जंगलमा मृत फेला पारेको र जंगली जनावरले आक्रमण गरेको जस्तो देखिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

मनहरी गाउँपालिका २ का ६२ वर्षीय श्याम बहादुर ब्लोन, वर्ष २८ का श्रवनकुमार ब्लोन र वर्ष ५० का भक्तबहादुर आलेमगरसतिह तीन जना स्थानीय जंगलमा कुरिलो खोज्न गएकोमा श्रवन कुमार र भक्त बहादुर शनिबार दिउँसो १४ः०० बजे घर फर्की आउनुभएको थियो ।

ब्लोन जंगलमा नै हराएको जानकारी पाएपछि श्रवनकुमार, भक्तबहादुर र मनहरी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष राजकुमार पाख्रिनसहितको टोली निकुञ्ज गएको थियो ।

वडाध्यक्षले पाख्रिनले कुरिलो खोज्न गएका ब्लोनको हात्तीको आक्रमणबाट मृत्युभएको जानकारी दिनुभयो ।
उहाँले हात्तीले आक्रमण गरी मृत्युभएको अवस्थामा ब्लोनको शव फेला परेको बताउनुभयो ।

उहाँका अनुसार सोमबार साँझ शव फेला परेको र नारायणी अस्पताल वीरगंजमा शव परीक्षणपछि मंगलबार अन्तिम संस्कारका लागि मनहरी २ मा ल्याइएको थियो । ब्लोनसँगै कुरिलो टिप्न गएका श्रवनकुमार र भक्तबहादुरले कुरिलो टिपेर फर्कने क्रममा हात्तीले आक्रमण गरेको र आफूहरु भागेर जोगिएको बताउनुभएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले श्रवनकुमार र भक्तबहादुरले हात्ती आएपछि आफूहरु रुखमा चढेर जोगिएको र ब्लोनलाई भने आक्रमण गरेको बयान दिएको जानकारी दिनुभयो । दुवै जनाले रुखमा चढेर बसेको र हात्ती गएपछि ज्यान जोगाएर भागेको बताएको उनीहरुलाई उदृत गर्दै खतिवडाले जानकारी दिनुभयो ।




