हेटौँडा, जेठ १३ गते ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुुई दिने दोस्रो प्रादेशिक भेला मंगलबारबाट हेटौँडामा शुुरु भएको छ । सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया तथा भेलामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्रमा प्रदेश सरकारको अटुुट विश्वास रहेको भन्दै पत्रकारिता जनविश्वासको आधार बन्नुपर्ने बताउनुभयो ।

‘हामी लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्छौ, नागरिकले सत्य, तथ्यपरक र सन्तुलित सूचना पाउनु अत्यावश्यक छ,’ उहाँले भन्नुभयो, ‘यसले पत्रकारिताप्रति जनताको भरोसा अझ बलियो बनाउँछ ।’

‘उत्पादनमुखी क्षेत्रमा लगानी हुन सकेन, जुन हाम्रो कमजोरी रह्यो, उहाँले भन्नुभयो, ‘सरकारले हात हालेका धेरै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिएन ।’

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पत्रकारहरु प्रदेशको जटिल अवस्था र वास्तविकताबारे जानकार हुनुुपर्ने भन्दै सरकारको सकारात्मक कामलाई उजागर गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले बनाएका थुप्रै कानुनहरु संघीय सरकारको अवरोधका कारण कार्यान्वयनमा जान नसकेको उहाँको भनाई छ । ‘प्रहरीसमेत प्रदेश सरकारको अधिकारभित्र छैन, ‘यसबारे पत्रकारहरु अवगत हुनु जरुरी छ,’ उहाँले भन्नुभयो, ‘हाम्रा मन्त्रालयहरू अरुको भवन, भाडामा छन्, प्रदेश सरकारसँग अधिकार नहुनु हाम्रो सरकारको सबैभन्दा ठुलो चुनौती हो ।’

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकार सधैं पत्रकारको साथमा रहेको बताउँदै खोजमूलक पत्रकारितामा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । सूचनाको युगमा पत्रकारहरूको भूमिका झन् जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिँदै मन्त्री काफ्लेले पत्रकारहरुको हीतका विषयमा प्रदेश सरकार सकारात्मक रहेकाले सहकार्य गरेरै अघि बढ्नुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कोष लेखा नियन्त्रक हरि उपाध्यायले लेखा सम्बन्धी र संस्कृती तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेशको पर्यटन सम्बन्धी कार्यपत्र प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष शिव देवकोटा, प्रेस चौतारी बागमती प्रदेशका अध्यक्ष तिलक रिमाल, प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष ध्रुव अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका अध्यक्ष युुवराज श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । भेलामा बागमती प्रदेशका जिल्ला शाखाहरुका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायतको सहभागिता रहेको छ ।



