हेटौँडा, जेठ १३ गते ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेका मौलिक हक ,अधिकार तथा स्वतन्त्रताहरूको प्रभावकारी कार्यान्वयनमा आयोगले निर्वाह गरेको भूमिका समय सापेक्ष, सशक्त र प्रेरणादायी रहँदै आएको बताउनुभएको छ । 

राष्ट्रिय मानव अधिकार आयोगको २५ औँ वार्षिकोत्सवका अवसरमा आयोगको बागमती प्रदेश कार्यालयले मंगलबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा उहाँले न्याय,समता र मानव गरिमाको सुनिश्चितता नै आधुनिक र समृद्ध राष्ट्रनिर्माणको आधारशिला भएको बताउनुभयो ।

मानव अधिकारको संरक्षण, प्रवद्र्धन र प्रत्याभूतिको अभियानमा २५ वर्षको गौरवपूर्ण यात्रा आयोगको प्रतिबद्धता, निष्ठा , जागरुकता र संस्थागत दृढताको ज्वलन्त प्रमाण हो प्रदेश प्रमुख देवकोटाले भन्नुभयो, जबसम्म नागरिकको सम्मानपूर्बक बाँच्ने अधिकारको ग्यारेन्टी हुँदैन तबसम्म देश विकास हुन सक्दैन ।

उहाँले भन्नुभयो, यो रजत जयन्ती केवल एक उत्सव मात्र होइन, विगतका कार्यसम्पादनलाई बस्तुगत तवरले मूल्याङ्कन गर्ने, वर्तमानका चुनौतीहरूलाई चिर्ने संकल्प गर्ने र आगामी दिनमा स्पष्ट दिशा तय गर्ने अवसर पनि हो ।

मानव अधिकारको सार्वभौम मान्यताअनुरूप समाजमा न्याय, समावेशिता र सहिष्णुताको संस्कृति संस्थागत गर्न सक्ने प्रेरणाको स्रोत बनाउन सक्नुपर्ने उहाँको भनाई छ ।

समाजमा हिंसा, द्वन्द, विभेद कायमै छन् । जसरी पनि मानवको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्दछ उहाँले अगाडि भन्नुभयो, कहालीलाग्दा मानव अधिकार हननका घटना घटिराख्नु दूर्भाग्य हो । अझ कति घटना बाहिर आउन सकेका हुँदैनन् वा आएका हुँदैनन् ।

मानव अधिकार उल्लंघनका घटना हुन नदिने पहल गर्नुनै महत्वपूर्ण हो भन्दै उहाँले सचेतना, प्रवर्धनात्मक र आवश्यकता परेमा हस्तक्षेपकारी कार्यलाई जोड दिएर सम्भावित मानव अधिकार उल्लंघन रोक्न सकिने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख माहादेव पन्थले आयोगको कामको अन्तरराष्ट्रिय स्तरमा पनि उच्च प्रसंशा हुने गरेको भन्दै सरकार मानव अधिकारको रक्षाको पक्षमा रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरमा प्रमुख ललितबहादुर घलानले मानव अधिकारमाथि पछिल्लो समय चुनाती बढेको बताउनुभयो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर शाहीले आयोगको भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
आयोगको हेटौँडा कार्यालयका निमित्त प्रमुख पवित्रा भण्डारीको अध्यक्षतामाभएको कार्यक्रममा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेल, पाटन उच्च अदालत हेटौँडा इजलाश बारका अध्यक्ष मनप्रसाद भट्टराई, गैसस महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटालगायतकाले मानव अधिकार सबैको अधिकार भएको बताउनुभएको थियो ।



