ललितपुर, असार ६ गते । शनिबार भोटो देखाएपछि वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ–यात्रा सकिएको छ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर सुरु भएको रथ यात्रा बुधबार ललितपुरको इटी (लगनखेल) देखि जावलाखेल पुगेपछि सकिएको हो। जावलाखेलमा चार दिन रथ राखेपछि शनिबार भोटो देखाइएको छ। शनिबार राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत विशिष्ट व्यक्तित्वको उपस्थितिमा भोटो देखाएर जात्राको समापन गरिएको हो।

राष्ट्रपति पौडेलसहित विशिष्ट व्यक्तित्वले जावलाखेल पुगेर भोटो जात्राको अवलोकन गर्नुभएको हो। भोटो देखाइसकेपछि करुणामयको प्रतिमालाई खटमा राखेर पुनः बुंगमतीमै पुर्याइनेछ। भोटो जात्राको अवसरमा सरकारले शनिबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।




