भुटनदेवी माविलाई भवन अभाव

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १९ गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ स्थित भुटनदेवी मावि(प्राविधिक शिक्षालय) लाई भवन अभाव भएको छ ।
मकवानपुर जिल्ला कै अग्रणी र उत्कृष्ट विद्यालय भएर पनि विद्यालयले भवन अभाव झैल्दै आएको छ ।

विद्यालयमा कक्षा कोठा अभावकै कारण उक्त विद्यालयलाई रोजाईमा पारेर आएका अभिभावक र विद्यार्थी यसै फर्कन बाध्य हुँदै आएका छन् ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले आफूहरुले हेटौँडालाई यसक्षेत्रकै महत्वपूर्ण शैक्षिक गन्तव्य बनाउन चाहेको भन्दै यसका लागि सामुदायिक विद्यालयमा शैक्षिक लगानी वृद्धि आवश्यकभएको औँल्याउनुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि पर्याप्त कक्षाकोठाको अभाव छ, विद्यालयमा पर्याप्त कक्षा कोठाको अभावकै कारण विद्यालयमा आएका सयौँको संख्यामा विद्यार्थी भर्नाबाट वञ्चित भएको  र बाहिरिनु परेको छ, उहाँले भन्नुभयो, मकवानपुर जिल्लासहित बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र सिराहासम्मका विद्यार्थीको रोजाई पछिल्लो समयमा भुटनदेवी मावि पर्दै आएको छ ।

उहाँले अगाडि भन्नुभयो, विद्यालयको आन्तरिक श्रोतबाट मात्र भौतिक पूर्वाधार विकास गर्न सम्भव पनि छैन । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान जानु आवश्यक छ ।
हेटौँडा उपमहानगरपालिकाले मेघा विद्यालयको अवधारणा अगाडि सारिरहेको सन्दर्भमा आवश्यक सुविधा सम्पन्न भौतिक संरचनाको निर्माण आवश्यक छ । विद्यालयसँग जग्गा जमिन छ, तर आवश्यक लगानीको अभावको कारण भौतिक संरचना निर्माण गर्न र जग्गा जमिनको उचित सदुपयोग भने हुन सकिरहेको छैन उहाँको भनाई छ ।

हेटौँडाको मुटुमा रहेको यस विद्यालयमा सरकारले ध्यान दिने हो भने देश कै सबैभन्दा धेरै विद्यार्थी अध्ययन अध्यापन गर्ने उत्कृष्ट विद्यालयको रूपमा विकास गर्न सकिन्छ ।

कक्षा १२ सम्मको जुनसुकै विषयको शिक्षा गुणस्तरीय रूपमा हेटौँडामा उपलब्ध गराउन सक्ने अवस्था निर्माण हुन्छ र बाहिर अध्ययन गर्न जान नपर्ने हुन्छ विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएको सिग्देलले भन्नुभयो, यसबारेमा सरोकारवाला सबैको ध्यानाकर्षण गराउँदछु ।
४ नं. वडा कार्यालयबाट विनियोजित १५ लाख रुपियाँ बजेटबाट प्राविधिक भवनको माथिल्लो तलाको संरचना बनाउने कार्य भईरहेको छ ।

ताजा समाचार

Related Articles