लागू औषधसहित मकवानपुरबाट छ जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २६ गते ।
मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित छ जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर बागमती गाउँपालिका वडा नं. ४ झुरझुरेबाट दुई जनालाई खैरो हेरोईन र ट्रमाडोलसहित पक्राउ गरेको हो ।

सोनाम घिसिङले संचालन गरेको हुक्का बारमा शंकास्पद रुपमा बसीरहेको अवस्थामा बागमती गापा वडा नं. ४ बस्ने वर्ष ३० को अविनास घलान र सोही स्थानका वर्ष २२ को अजय घिसिङलाई खैरो हेरोईन २२० मिलि ग्राम र ट्रमाडोल ५५ क्याप्सुलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले घलान र घिसिङलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध खैरो हेरोईन सम्बन्धी कसुर मुद्दामा पाँच दिनको म्याद थप अनुमती लिई अनुसन्धान गरिरहेको छ ।

यस्तै प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चोकपोष्ट स्थित सडकखण्डमा सवारी साधनहरु रोकी जाँच गर्ने क्रममा हेटौँडाबाट वीरगंजतर्फ जाँदैं गरेको बा ३ ख ८३९४ नं. को यात्रुवाहक बसमा सवार दुई जनालाई गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गापा वडा नं. २ बस्ने वर्ष ४० की फूलमाया स्याङ्वो र सोही स्थानकी वर्ष ३० की निर्मला मोक्तान रहेका छन् । निजहरुले झोला भित्र लुकाई ल्याईएको अवस्थामा १० किलो चार सय ग्राम गाँजा फेलासहित नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले हेटौँडा ५ सानोपोखराचोकबाट बागमती गापा वडा नं.१ घर भई हाल जिल्ला हेटौँडा ५ बस्ने वर्ष २४ को आशिष अधिकारी र वडा नं. २ बस्ने वर्ष २९ को विज्ञान डिम्डुङलाई लागू औषधसहित नियन्त्रणमा लिएको छ ।
१६० ट्याब्लेट लागूऔषध ट्रमाडोल बरामद गरी निजहरु अधिकारी र डिम्डुङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट पाँच दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको मकवानपुर प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles