खासकुरा संवाददाता
हेटौँडा, जेठ २६ गते ।
नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कमिटीले करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउन माग गरेको छ ।

संगठनले बागमती प्रदेशका प्रमुख सचिव भुपाल बरालको स्वागत तथा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रमुख सचिवमार्फत मुख्यमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपा एमाले संसदीय दल र प्रमुख सचेतकसमक्ष सोमबार यस्तो माग गरेको हो ।

प्रदेश तथा स्थानीय तहमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई समेत वृद्धि भएको महँगी भत्ता उपलब्ध गराउनु मागपत्र भनिएको छ ।

आगामी बजेटमा बागमती प्रदेशमा कार्यरत निजामती कर्मचारीहरु एवं समग्र प्रदेशको समृद्धि र विकासको लागि १५ बुँदै माग पत्र पेस गरिएको प्रदेश कमिटी महासचिव टेकनाथ काफ्लेले जानकारी दिनुभयो ।

आन्तरिक पर्यटनलाई प्रवर्धन गर्नको लागि विगत वर्षमा दिइदै आएको आर्थिक सुविधा सहितको पारिवारिक पर्यटन काजलाई निरन्तरता दिनुपर्ने मागपत्रमा उल्लेख छ ।

कार्यक्षेत्रमा आफ्नो र परिवारको नाममा घर नहुने कर्मचारीलाई कार्यालयले आवास सुविधा उपलब्ध गराउन नसक्ने भएमा सुरु तलब स्केलको काठमाडौ उपत्यका भित्र नौ प्रतिशत , उपत्यका बाहिरका महानगरपालिका र उपमहानगरपालिकाभित्र कार्यक्षेत्र हुने कर्मचारीलाई ६.७५ प्रतिशत र अन्य क्षेत्रमा काम गर्ने कर्मचारीलाई ४.५ प्रतिशत रकम घरबहाल बापत उपलब्ध गराउने व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै कर्मचारी र निजका परिवार सदस्यलाई साधारण उपचार गराउँदा प्रतिव्यक्ति वार्षिक दुई लाख वा वास्तविक उपचार खर्च जुन घटी हुन्छ सोही बराबरको रकम र कडा रोगको उपचार गर्नु पर्दा ३० लाख रुपियाँ वा वास्तविक उपचार खर्च मध्ये जुन घटी हुन्छ सोही वरावरको रकम सिधै अस्पताललाई भुक्तानी हुने गरी उपचार खर्च उपलब्ध गराउने व्यवस्था गर्न माग पत्रमा भनिएको छ ।




