काठमाडौँ, जेठ ३० गते । भारतमा भएको विमान दुर्घटनामा २४१ यात्रुको निधन भएको पुष्टि भएको छ भने एकमात्र यात्रुको जीवितै उद्धार गरिएको छ ।
बिबिसी नेपाली सेवाका अनुसार एअर इन्डियाले एक विज्ञप्ति जारी गर्दै एआई १७१ उडान सङ्ख्या रहेको उसको विमान बिहीवार दिउँसो अहमदाबाद सहरको विमानस्थलबाट उडेको केही क्षणमै दुर्घटनाग्रस्त हुँदा २४१ जना यात्रुको निधन भएको पुष्टि गरेको छ।

‘एकमात्र’ जीवित यात्रुको अस्पतालमा उपचार भइरहेको उसले जनाएको छ।
“हाम्रा सबै आगामी कदम प्रभावित, तिनका परिवार र प्रियजनको आवश्यकतातर्फ केन्द्रित भएका छन्,” उसले भनेको छ।
साथै अधिकारीहरूले गर्ने अनुसन्धानमा आफूले पूर्ण रूपमा सघाउने उसले बताएको छ।

को हुन् एकमात्र जीवित यात्रु ?
भयानक विमान दुर्घटनामा बाँच्न सफल ब्रिटिश नागरिक विश्वासकुमार रमेशलाई आफू कसरी बच्न सकेँ भनेर ‘कुनै पत्तो’ नभएको उनका आफन्तहरूले बताएका छन्।
यूकेको लेस्टरस्थित उनको घरबाहिर उनका भाइ नयनकुमारले भने: “हामी यो खबर सुनेदेखि नै स्तब्ध थियौँ।”

दुर्घटनापश्चात् आफूसँग कुरा गर्दै विश्वासकुमारले भनेको उद्धृत गर्दै उनले भने: “मलाई थाहा छैन म कसरी प्लेनबाहिर आइपुगेँ।”

जय नामका अर्का आफन्तका अनुसार दुर्घटनाबाट बचेपछि विश्वासकुमारले उनका पितासँग कुरा गर्दा सोही विमानमा भएको ठानिएका उनका अर्का भाइ अजयको बारेमा सोधेका थिए।
जयले भने, “विश्वासकुमारका पिताले बताएअनुसार उनको मुहारमा केही चोटपटक लागेको छ। रगताम्मे थिए – उनले त्यति भने।”

नयनकुमारका अनुसार विश्वासकुमारले उनीहरूलाई फोन गर्दा ‘अजयलाई खोज, अजयलाई खोज’ भनेका थिए।
विश्वासकुमार उक्त बोइङ् ७८७ उडानमा ११ए अङ्कको सिटमा थिए।
सामाजिक सञ्जालमा राखिएका भिडिओमा रमेश एम्बुलेन्सतर्फ हिँडिरहेको देखिन्छ, पछाडि धुवाँको मुस्लो छ।
उनलाई अस्पतालमा पुगेर भारतीय गृहमन्त्री अमित शाहले भेट गरेका छन्।

उनलाई उपचार गरिरहेका चिकित्सक डा धवल गामेटीले भने: “उनको शरीरभरि घाउहरू छन्। अलि आफ्नो वरपर के भएको छ भन्ने भेउ नपाएको जस्तो देखिन्छन्। तर खतरामुक्त देखिन्छन्।”
भारतमा जन्मिएका उनी यूकेमा सन् २००३ देखि बस्दै आएका थिए। उनको पत्नी र चार वर्षीय एक छोरा छन्।
