हेटौँडा, असार १० गते । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि हेटौँडा उपमहानगरपालिकाले करिब तीन अर्ब रुपियाँ बराबरको बजेट ल्याएको छ ।

उपमहानगरपालिकाको मंगलबार बसेको नगरसभाको १७ औँ अधिवेशनमा उपप्रमुख राजेश बानियाँले चालु आर्थिक वर्षको बजेटभन्दा वृद्धि गर्दै दुई अर्ब ९० लाख तीन हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

उपमहानगरको चालु आवको बजेट दुई अर्ब ४३ करोड ८० लाख रुपियाँ रहेको छ । आगामी आवको बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपियाँ, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार रुपियाँ र बाँकी संघ र प्रदेशबाट अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

नगर विकास कोषको ऋणबाट तीन करोड ६० लाख रुपियाँ स्रोत व्यवस्थापन गर्ने बजेटमा उल्लेख छ । कार्य सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनका लागि ५९ करोड ६५ लाख ९० हजार र सुशासन तथा संस्थागत विकासतर्फ तीन करोड ८९ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
आगामी आवमा अटो भिलेज पूर्वाधार निर्माण हेटौँडा–११, वाटर फन पार्क हेटौँडा–१४, गंगा आरती स्थल हेटौँडा– १० का लागि बजेट व्यवस्था गरिएको छ ।




