राक्सिराङद्वारा सामाजिक विकास र भौतिक पूर्वाधारमा जोड

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ११ गते । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाले सामाजिक विकास र भौतिक पूर्वाधार विकासमा जोड दिएर आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

गाउँसभाको मंगलबारभएको १८ औँ अधिवेशनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
अधिवेशनमा आगामी आवको नीति तथा कार्यक्रम कार्याँवयन गर्न गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङले ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो ।

राक्सिराङको चालु आवको बजेट ५४ करोड ६१ लाख ७३ हजार रुपियाँ रहेको छ । राक्सिराङले आगामी आवको कुल बजेटको चालुतर्फ ७६.४१ प्रतिशत अर्थात् ४८ करोड ५३ लाख ५४ हजार १५५ र र पुँजीगत खर्चतर्फ २३.५९ प्रतिशत अर्थात् १४ करोड ९८ लाख ७७ हजार १३४ रुपियाँ विनियोजन गरेको छ।

गाउँपालिकाको आगामी आवको खर्च बेहोर्ने स्रोतमा विभिन्न अनुदान र राजस्व बाँडफाँडबाट गरी ४३ करोड ८९ लाख ७८ हजार ४७२ रुपियाँ प्राप्त हुने अनुमान गरिएको गाउँपालिका उपाध्यक्ष थिङले बताउनुभयो ।
यस्तै प्रदेश सरकारबाट राजस्व बाँडफाड र अनुदानबाट गरी १० करोड ५८ लाख २२ हजार ८१७ र आन्तरिक आम्दानीबबाट नौ करोड चार लाख ३० हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुख्खा उच्च थलीहरुमा रिचार्ज पोखरी निर्माण गरी जलाधार एवं वनस्पति संरक्षण कार्य अगाडि बढाइने बताउनुभयो ।
रैथाने खाद्य वस्तुको उत्पादन र प्रयोगमा जोड दिँदै पत्रु खानालाई क्रमशः नियन्त्रण गरी अन्ततः प्रतिबन्ध लगाउने नीति पालिकाले लिनेभएको छ ।
उहाँले गाउँपालिकाले ‘एक टोल एक उत्पादन’को लक्ष्य लिइएको जानकारी दिनुभयो ।
गाँजाको वैधानिक प्रयोगसम्बन्धी बहस अगाडि बढाइनेभएको छ ।
गाउँपालिकाभित्र सञ्चालित अधिकतम विद्यालयहरुमा ईन्टरनेट विस्तार गरी सूचना र सञ्चार प्रविधि पूर्वाधार निर्माण गर्दै राक्सिराङ्गको ईच्छा, प्रविधिमैत्री गुणस्तरीय शिक्षा भन्ने नारालाई सार्थक बनाईने नीति तथा कार्यक्रममा उल्लेख छ ।
“शिक्षा नै विकासको मूल आधार” भन्ने मान्यताका साथ गाउँपालिकाको समग्र शैक्षिक क्षेत्रको उन्नयनको लागि स्थानीय शिक्षा योजना कार्यान्वयन कार्यलाई निरन्तरता दिईने भएको छ । गाउँपालिकाभित्रका आधारभूत तहको शैक्षिक गुणस्तर सुधार गर्न आधारभुत तहको शैक्षिक सुदृढिकरण कार्यक्रम सञ्चालन गरिने र गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुमा कक्षा एक देखि कक्षा तीन सम्मको विद्यार्थीहरुको गणितीय सीप र पठन सीपको विकास गर्न दातृ संस्थाको सहयोगमा प्रारम्भिक कक्षा सिकाई कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । साथै छात्रावास सञ्चालित विद्यालयहरुमा विद्यालय छात्रावास सहयोग कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई थप सुविधा प्रदान गरिने भएको छ ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीरुको क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, दश जोड दुई सञ्चालित विद्यालयमा अनुदान शिक्षकको व्यवस्था गरी दश जोड दुई कक्षालाई दीगो र गुणस्तरीय बनाईने भएको छ ।
’स्वास्थ्यका लागि खेलकुद, युवाका लागि खेलकुद’ भन्ने मान्यताका साथ गाउँपालिकास्तरीय खेलकूद तथा युवा लक्षित कार्यक्रमहरु सञ्चालन गरिने भन्दै अध्यक्ष मल्लले गाउँपालिकाभित्रका युवाहरुको चाहना, लक्ष्य र विचार संश्लेषण गरी उनिहरुमा राज्य र समाजप्रति सचेत र जिम्मेवार बनाउन समुदायमा युवा सम्वाद कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
गाउँपालिकाभित्र बसोबास गर्ने विपन्न समुदायका ५ बर्षमुनिका बालबालिका तथा आमाहरुको पोषण सुधार गर्न बाल स्वप्न परियोजना सञ्चालन गर्ने र राक्सिराङ्ग गाउँपालिकाभित्रको एकमात्र अस्पताल राक्सिराङ्ग आधारभुत अस्पतालको सेवा सुदृढिकरण गर्दै स्वास्थ्य वीमा कार्यक्रममा आबद्ध स्वास्थ्य संस्था बनाई गुणस्तरीय चिकित्सकीय सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउने गरी नीति तथा कार्यक्रम ल्याइएको छ ।
गाउँपालिकाभित्र सञ्चालित स्वास्थ्य चौकीहरुमा आवधिक रुपमा विशेषज्ञ चिकित्सक सेवा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाको प्रशासनिक भवनलाई तिव्रता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

ताजा समाचार

Related Articles