खासकुरा संवाददाता
हेटौँडा, असार ११ गते । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कृषि, शिक्षा, पूर्वाधार विकास र सामाजिक विकासलाई प्राथमिकता दिएर ल्याएको छ ।

बकैया गाउँसभाको एघारौँ अधिवेशनमा मंगलबार गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी आवको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै करको दायरा विस्तार गर्दै आन्तरिक आयको योगदान वृद्धि गर्ने बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको गाउँसभाबाट आगामी आवको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स्वीकृति भएको छ ।

गाउँपालिकाको आगामी आवको बजेट यही असार १६ गते ल्याइने भएको छ । पालिकाले एक घर एक धाराको नीतिलाई निरन्तरता दिने, फोहोर मैला व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्ने, पालिकास्तरीय वाङ्मय प्रतिष्ठान गठन गर्ने, दिगो र भरपर्दो सडक पूर्वाधार निर्माणको लागि गुणस्तर मापन गर्न पालिकामा नै मिनी ल्याव स्थापना गर्ने र चालु खर्चमा कटौती गर्दै खर्चमा मितव्ययिता अपनाइने नीति लिइने भएको छ ।

यस्तै बकैयामा सार्वजनिक निजी साझेदारीमा मझौला र ठुला उद्योग सञ्चालन प्रोत्साहित गर्ने गरी पालिकाले आगामी आवमा नीति बनाएको छ । बकैया कृषि औद्योगिक ग्राम क्षेत्रमा बकैया कृषि उपज खरिद बिक्री तथा संकलन केन्द्रलाई व्यवस्थित बनाउँदै कार्य क्षेत्र विस्तार गरिनेभएको छ ।

दुधको भण्डारसहितको चिस्यान केन्द्र बकैया कृषि औद्योगिक ग्राममा निर्माण गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट मात्र पठनपाठन गर्ने व्यवस्था क्रमशः विस्तार गरिँदै लगिनेभएको छ ।




