दीगो समृद्धिको धान उत्पादन अनिवार्य शर्तः प्रदेश प्रमुख देवकोटा

लोकप्रिय

हेटौँडा, असार १५ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दीगो समृद्धिको लागि धान उत्पादन अनिवार्य शर्त भएको बताउनुभएको छ ।
राष्ट्रिय धान दिवस २०८२ को अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्नु हाम्रो राष्ट्रिय आवश्यकता र दीगो समृद्धिको अनिवार्य शर्त भएको बताउनुभएको हो ।
धान केवल अन्नबाली होइन, यो हाम्रो समाजको भावनात्मक, सांस्कृतिक र आर्थिक संरचनाको मेरुदण्ड हो उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ हाम्रो देश नेपाल कृषिप्रधान देश हो र धान हाम्रो मुख्य बाली हो ।
धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को शुभकामना व्यक्त गर्दै उहाँले वर्षभरिको कृषिकर्मको आधारशिला स्वरूप सुरु हुने रोपाइँले कृषकहरूको श्रम, प्रकृतिसँगको सहकार्य र इतिहास तथा परम्परागत संस्कृतिको जगेर्ना एक साथ देख्न पाइने गरेको बताउनुभएको छ ।
हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले आम कृषकहरूलाई सम्मान, कृषि प्रणालीमा नवप्रवर्तन र खाद्य सुरक्षाको सुनिश्चितता तर्फको साझा प्रतिवद्धतालाई स्मरण गराउँछ शुभकामना सन्देशमा उल्लेख छ ।
वर्तमान परिवेशमा कृषिक्षेत्रले विविध चुनौतीहरू व्यहोर्दै आइरहेको शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, जलवायु परिवर्तनको असर, खेतियोग्य जमिनको ह्रास तथा खण्डिकरण, खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्ति, युवाहरूको कृषि प्रतिको घट्दो आकर्षण, उन्नत बीउ, मलखाद र सिंचाइको कमी, कृषिमा लगानीको अभाव आदि समस्याहरूले यो क्षेत्रलाई थप संवेदनशील बनाएका छन् । उहाँले कृषि क्षेत्रमा देखिएको समस्यालाई बदल्न सोचाइ, नीति, प्रविधि, अनुसन्धान र व्यवहारमा आमूल परिवर्तन हुनु नितान्त आवश्यक भएको भन्दै कृषकमैत्री नीति निर्माण, बीउ, मलखाद र सिँचाइमा पहुँच, आधुनिक उपकरणको प्रयोग, बजार सुनिश्चितता, बीमा तथा अनुदान जस्ता विषयमा प्राथमिकता दिन शुभकामना सन्देशमार्फत सुझाउनुभएको छ ।
यस वर्षको राष्ट्रिय धान दिवसले सम्पूर्ण कृषक समुदायमा थप उत्साह, आत्मबल र समर्पणको भावना जागृत गराउनेछ भन्ने अपेक्षा राखेको छु शुभकामना सन्देशमा प्रदेश प्रमुख देवकोटाले भन्नुभएको छ, “धानबालीमा सघनता ः खाद्य सुरक्षा र आत्मनिर्भरता “ भन्ने राष्ट्रिय नाराका साथ आज हामी २२ औं राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवका रूपमा मनाउदैछौं । मानो रोपेर मुरी उब्जाउने लक्ष्य बोकेको आजको दिनले आशा, कर्मप्रतिको भरोसा, प्रकृतिसङ्गको अटुट सम्बन्ध र सृजनालाई प्रतिबिम्बित गर्दछ ।

ताजा समाचार

Related Articles