प्रतिनिधि सभाबाट संघीय निजामती सेवा ऐन, २०८२ पारित

लोकप्रिय

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा संघीय निजामती सेवा विधेयक २०८२ बहुमतले पारित भएको छ ।

बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ऐनमा संघीय निजामती सेवाका कर्मचारीहरूको वृत्ति विकास सुनिश्चित गर्न र कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई बस्तुगत बताउने प्रयास गरेको बताउनुभयो ।

विधेयक माथिको छलफलका क्रममा सांसदहरूले निजामती प्रशासन जनतासँग प्रत्यक्ष जोडिने स्थायी सरकार भएकोले संघीय व्यवस्थाको मर्म अनुरुप व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।

यस्तै सांसदहरूले निजामती विधेयकले राष्ट्रसेवक कर्मचारीहरूको सेवा–सुविधा र वृत्ति विकास सुनिश्चित गर्नुपर्ने, कर्मचारी प्रशासन सञ्चालनमा राज्यको आर्थिक भार कम गर्न कर्मचारीको सङ्ख्या आधा गरी कर्मचारीको सेवा सुविधामा समयानुकूल वृद्धि गर्नुपर्ने, प्रदेश र स्थानीय तहमा खटिने कर्मचारीहरूलाई आकर्षित अवसर दिनुपर्ने जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै छलफलमा सांसदहरूले विधेयकमा नागरिकलाई क्षतिपूर्ति सहितको सेवा पाउने अधिकार सुनिश्चित हुनुपर्ने, सबै नागरिकलाई निजामती सेवामा समान रुपमा प्रवेश पाउने अवसर सुनिश्चित हुनुपर्ने, सबै तह र निकायमा खटिने निजामती कर्मचारीहरूले समान सुविधा र अधिकार पाउनुपर्ने माग गर्नुभयो ।

विधेयक माथिको छलफलका क्रममा स्वतन्त्र सांसद प्रभु साहले निजामती सेवा विधेयकले गरिब र विपन्न वर्गका नागरिकहरू प्रति विभेद गरेको भन्दै विधेयकको प्रति च्यात्नुका साथै बैठक समेत बहिस्कार गर्ने बताउनुभयो ।

यसअघि आजको बैठकको सुरुमा हुनासाथ नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूबिच आरोप–प्रत्यारोपको दोहोरी चलेको थियो ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन हुनुपर्ने तथा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै केही दिन देखि निरन्तर विरोध गर्दै आएको रास्वपा र राप्रपाका सांसदहरुले आजको बैठकमा पनि सुरु हुनासाथ उठेर विरोध जनाउनुभयो ।

त्यसपछि सभामुख देवराज घिमिरेबाट समय पाएपछि रास्वपाका सांसद डोलप्रसाद अर्यालले भिजिट भिसा प्रकरणमा सत्यतथ्य छानविन गर्न उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग दोहोर्‍याउनुहुँदै प्रतिनिधि सभाको केही दिन अघिको बैठकमा सुमिरे टुर एण्ड ट्राभल्स कम्पनीबाट समेत भिजिट भिसाको माध्यमबाट विदेश पठाएर ठगिएको भनि झुटो आरोप लगाइएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग गर्नुभयो ।

सांसद अर्यालले सुमिरे टुर एण्ड ट्राभल्स कम्पनी आफ्नो कम्पनी भएकोले आफूलाई बदनाम गर्न निराधार आरोप लगाइएको बताउनुभयो ।

त्यसपछि नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले रास्वपा सांसद अर्यालको अभिव्यक्तिप्रति आपत्ति जनाउनुहुँदै कुनै संस्थामाथि छानविन गर्नुपर्छ भन्दा किन तर्सिएको भन्दै प्रतिप्रश्न समेत गर्नुभयो ।

त्यसपछि सभामुख घिमिरेले गैह्र संसदीय व्यवहार र अभिव्यक्ति नराख्न तथा प्रमाणित हुन सक्ने कुरा मात्र बोल्न निर्देशन दिनुभयो ।

त्यसपछि सभामुख घिमिरेबाट समय पाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाहीले संसदमा उठेको भिजिट भिसाको समस्या सबैको साझा समस्या भएकोले यसको सत्यतथ्य छानबिनका लागि संसदीय समिति गठन गर्न सत्तारूढ दलको समेत सहमति हुनुपर्ने बताउनुभयो ।

त्यसपछि नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदमा दैनिक रुपमा बैठक सुरु हुनासाथ आकस्मिक समय लिएर अरूलाई गालिगलौच गर्ने र बैठक छोडेर हिँड्ने प्रवृत्तिले संसद्को मर्यादालाई नै कमजोर बनाएकोले आकस्मिक समयको प्रयोगलाई मर्यादित र व्यवस्थित गर्न माग गर्नुभयो ।

बैठकमा सभामुख घिमिरेले अन्य दलका सांसदहरूलाई बोल्न समय दिनुभएपछि विगतका दिनहरूमा जस्तै आजपनि राप्रपाका सांसदहरू बैठक बहिस्कार गरी बाहिरिनुभयो भने रास्वपाका सांसदहरूले संसद्को बेल घेराउ गर्नुभएको थियो ।

त्यसपछि बैठकमा बोल्ने सांसदहरूले पहाडी क्षेत्रमा सडकको स्तरोन्नति गर्नेक्रममा पहिरोको जोखिम बढेकोले त्यसतर्फ ध्यान दिन, संसदीय मर्यादा कायम हुनुपर्ने, संसदमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालय र सरकारले जवाफ दिनुपर्ने, पर्यटकीय क्षेत्र तथा प्रमुख पर्यटकीय क्षेत्रहरूमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनुपर्ने, विभिन्न बहानामा पर्यटकलाई दुःख दिने प्रवृत्ति अन्त्य हुनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक यही असार २३ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।

ताजा समाचार

Related Articles