खासकुरा संवाददाता
हेटौँडा, असार १६ गते । चितवनको रत्ननगर नगरपालिका ६ डाङ्गे चोकमा जेसिबीले ठक्कर दिँदा एकको मृत्यु र एक जना घाइते भएका छन् ।

भित्री सडक खण्डमा बछौलीबाट चित्रसारीतर्फ जाँदै गरेको बा.३ क ६८७ नं.को जेसिबीले चित्रसारीबाट बछौलीतर्फ आउँदै गरेको ना ३६ प३०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार सन्तोष चौधरीको सोमबार बिहान उपचारको क्रममा मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँले जनाएको छ ।

जेसिबीले गत बिहीबार ठक्कर दिँदा मोटरसाइकल चालक रत्ननगर नगरपालिका ७ बस्ने वर्ष ३५ को राजु चौधरीको दाहिने हात, औँलामा चोट अवस्था मध्यम र पछाडि सवार सोही स्थान बस्ने वर्ष ४० को सन्तोष चौधरीको दुवै खुट्टाको घुँडामा चोट लागि घाइते अवस्था स्थानीय बकुलहर अस्पताल टाँडीमा पठाएको थियो ।

ठक्कर दिने जेसिबी र चालक जिल्ला माडी नगरपालिका ४ बस्ने वर्ष २१ को आकाश मर्दनीया प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकलको पछाडि सवार सन्तोष चौधरीलाई थप उपचारको लागि शुक्रबार पुरानो मेडिकल कलेज पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको र शव पुरानो मेडिकलमा नै रहेको प्रहरीको भनाई छ ।




