खासकुरा संवाददाता
हेटौँडा, असार १६ गते । मकवानपुरको बकैया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको आकार घटेको छ । बकैया गाउँपालिकाको सोमबार भएको ११ औँ अधिवेशनको दोस्रो बैठकमा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी आवको लागि ९१ करोड ७२ लाख ५० हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

कृषि र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै ल्याइएको बजेट सोमबार गाउँसभाबाट पारित भएको छ । गाउँ सभाबाट बजेट पारित भएसँगै आगामी साउन १ गतेबाट कार्यान्वयनमा आउनेभएको छ ।
बकैया गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट ९३ करोड ५९ लाख ९९ हजार ६५६ रुपियाँ ६० पैसा रहेको छ ।
विनियोजन बजेट मध्ये पुँजीगततर्फ २८ करोड छ लाख ९१ हजार र चालुतर्फ ६३ करोड ६५ लाख ५९ हजार रुपियाँ बजेट व्यवस्था गरिएको छ ।
आगामी आवको बजेटको स्रोत बेहोर्ने क्षेत्रमा आन्तरिक आयतर्फ ११ करोड ५१ लाख १८ हजार ६६२ रुपियाँ पचासी पैसा, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख छ हजार र संघीय तथा बागमती प्रदेश सरकारको राजश्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार ३३७ रुपियाँ १५ पैसा प्राप्त हुने अनुमान गरिएको छ । चालु आवको लागि विनियोजित बजेटमध्ये असार १५ गतेसम्ममा चालु तर्फ ४३ करोड ८१ लाख ९१ हजार ३८४ रुपियाँ एक पैसा खर्च भएको उपाध्यक्ष खत्रीले बताउनुभयो । यो चालु आवका लागि विनियोजित बजेटको ७४.५२ प्रतिशत हो ।

गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको सो बैठकमा उपाध्यक्ष खत्रीले चालु आवमा विनियोजित बजेटको पुँजीगत एवम् पूर्वाधार तर्फ १५ करोड ५४ लाख ७२ हजार ८६ अर्थात् ४४.६७ प्रतिशत खर्च भएको बताउनुभयो ।
बकैया गाउँपालिकाको चालु आवको बजेटमा असार १५ गतेसम्मको समग्र वित्तीय प्रगति ५९ करोड ३६ लाख ६३ हजार ४७० रुपियाँ १ पैसा अर्थात ६३.४२ प्रतिशत भएको छ ।
बजेट प्रस्तुत गर्दै उपाध्यक्ष खत्रीले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयनबाट समृद्ध बकैया निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।




