थाहा नगरपालिकाको ९० करोडभन्दा बढीको बजेट

लोकप्रिय

हेटौँडा, असार १६ गते । उत्तरी मकवानपुरको थाहा नगरपालिकाको सोमबार बसेको १८ औँ अधिवेशनको दोस्रो बैठक आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि ९० करोड रुपियाँभन्दा बढीको बजेट पारित गर्दै सम्पन्नभएको छ ।

नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले नगरपालिकाको दोस्रो बैठकमा प्रस्तुत गर्नुभएको आगामी आवको कूल बजेट ९० करोड ३० लाख रूपियाँ बराबरको बजेट छलफलसहित नगर सभाले पारित गरेको हो ।
थाहा नगरको आगामी आवको बजेटको स्रोतमा संघीय सरकारबाट समानीकरण, समपूरक, विशेष, सशर्त अनुदानसहित राजस्व बाँडफाँड र रोयल्टीबाट गरी ५८ करोड ४३ लाख २२ हजार ११९ रुपियाँ गरी ५८ करोड ४३ लाख २२ हजार ११९ रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै, राजस्व बाँडफाँडबाट १० करोड ७० लाख सात हजार ६८४ र रोयल्टीबाट एक करोड १९ लाख १४ हजार ४३५ गरी प्राप्त हुने अनुमान छ ।

त्यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड २५ लाख ८६ हजार, समपूरक अनुदान दुई करोड ८८ लाख, विशेष अनुदान ६५ लाख, सशर्त अनुदान दुई करोड ४९ लाख २१ हजार र राजस्व बाँडफाँडबाट पाँच करोड ७८ लाख ३१ हजार ९९ गरी १३ करोड छ लाख ३८ हजार ९९ रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।
आगामी आवमा नगरपालिकाको आन्तरिक आयबाट १६ करोड ८० लाख ३९ हजार ७८२ र मालपोतबाट दुई करोड गरी १८ करोड ८० लाख ३९ हजार ७८२ प्राप्त हुने प्रक्षेपण गरिएको नगरउपप्रमुख गोपालीले बताउनुभयो ।

यस्तै चालु आर्थिक वर्ष २०८१/०८२ मा सङ्घीय र प्रदेश सरकारबाट अनुदानसहित सङ्घ र प्रदेशको राजस्व बाँडफाँड, नगद मौज्दात र आन्तिरक राजस्व समेत गरी ९८ करोड ६५ लाख २३ हजार ६९० अनुमान गरिएकोमा गत जेठ मसान्तसम्म ७३ करोड ८४ लाख ५४ हजार ४०४ रुपियाँ पालिकालाई प्राप्त भएको छ ।

चालु आवका लागि चालुतर्फ विनियोजित रकम ५४ करोड ३४ मध्ये ४० करोड ६९ लाख ७५ हजार अर्थात् ७४.८९ प्रतिशत र पुँजीगत बजेटतर्फ ४४ करोड ३१ लाख २३ हजारमध्ये जेठ मसान्तसम्म १८ करोड ५६ लाख ९६ हजार अर्थात् ४२ प्रतिशत खर्च भएको छ ।
विनियोजित बजेटको आधारमा कूल खर्च ६०.०८ प्रतिशत र कूल आयको आधारमा ८०.८४ प्रतिशत भएको छ ।
नगर प्रमुख विष्णुबहादुर विष्टको अध्यक्षतामा भएको अधिवेशनमा नगरप्रमुख गोपालीले अनुमानित राजस्व पूर्ण रूपमा प्राप्त भएमा असार मसान्तसम्म चालूतर्फ ९०% र पूँजीगततर्फ ८५% भन्दा बढी बजेट खर्च हुने अनुमान गरिएको बताउनुभयो ।

ताजा समाचार

Related Articles