खासकुरा संवाददाता
हेटौँडा, असार १८ गते । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले ट्राफिक नियम पालना नगर्दा सवारी साधन दुर्घटनामा वृद्धिभएको बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार हेटौँडामा आयोजना गरेको सडक दुर्घटना न्यूनीकरणका सम्बन्धमा सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सवारी दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रणलगायतका क्षेत्रमा प्रहरीसँग सहकार्य गरेर काम गरिरहेको बताउनुभयो । उहाँले कानुनको पालनामा लापर्वाही गर्दा दुर्घटना वृद्धिसँगै सरदर दैनिक सातदेखि १० जनासम्मको सवारी दुर्घटनामा ज्यान जाने गरेको बताउनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सवारी चालक अनुशासनमा बसेमा सवारी दुर्घटनामा न्यूनीकरण आउने बताउनुभयो । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले सवारी चालकका कारण सवारी दुर्घटनामा वृद्धिभएको बताउनुभयो ।

मन्त्रालयका सचिव कृष्णबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख पदम ओझा, नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनका प्रमुख नरेश सुवेदी, नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य बद्री चौलागाईलगायतले सवारी दुर्घटना न्यूनीकरणमा सबै उत्तरदायी भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
