सिन्धुपाल्चोक, असार १९ गते । सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै पहिलोपटक हेलिकोप्टर आयात हुन थालेको छ।
यसअघि इलेक्ट्रोनिक सामान, लत्ताकपडा, फलफूल र सवारीसाधन भित्रिने गरे पनि हेलिकोप्टर आयात भने पहिलोपटक गरिएको हो।

चीनको विभिन्न सहरबाट सामान ल्याउँदै आएको आडो ट्रान्सपोर्ट कम्पनीले बुधबार बेलुकी ४० फुटे टेलरमा राखेर हेलिकोप्टर नेपाल ल्याएको हो।


माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको उक्त हेलिकोप्टर तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको छ। कम्पनीले थप पाँचवटा चिनियाँ हेलिकोप्टर पनि यही नाकाबाट ल्याउने तयारी गरेको जानकारी दिएको छ।


तातोपानी भन्सार कार्यालयका अनुसार एक–दुई दिनभित्र भन्सार जाँचपास प्रक्रिया पूरा हुनेछ। यसबाट ४ करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन हुने अनुमान छ।

आज प्राविधिक टोलीले हेलिकोप्टरको परीक्षण गरेपछि सो हेलिकोप्टर काठमाडौं उडाइने भन्सार कार्यालयका सूचना अधिकृत सूर्य काफ्लेले जानकारी दिनुभयो। –रेडियो नेपाल अनलाइनबाट




